
काठमाडौं ।
इन्टरनेटले जति सुविधा थपिरहेको छ, त्यति नै चुनौति निम्त्याइरहेको छ । यसको दूरुपयोग गर्नेमा युवापुस्ताका नागरिक बढी सक्रिय रहेको देखिएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चरित्रहत्या गरी भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने चारजना युट्यबुरलाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ।
युट्युब च्यानलमार्फत महिलाहरूको चरित्रहत्या गरेको आरोपमा पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी (प्रहरी वरिष्ठ उपरिक्षक) नविन्द्र अर्यालले जानकारी दिए। पक्राउ पर्नेमा दैनिक खबर च्यानलका सञ्चालक दाङको तुलसीपुर उपमहानगरपालिका– १७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवाकोटको सूर्यगढी गाउँपालिका– २ चोकदे घर भई काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका मोरङको बेलबारी–९ घर भई पेप्सिकोला बस्ने पिंकला कार्की र मोडर्न अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखा मेलुङ गाउँपालिका–४ घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ रहनुभएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको एसएसपी अर्यालले जानकारी दिए। चरित्रहत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्याई घृणा फैलाउने सामग्रीहरू प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा पक्राउ गरी मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ ।
पछिल्लो समय जिज्ञासा मेटाउन इन्टरनेटमा उत्तर खोज्ने पुस्ता जानेर वा नजानेर अपराधिक क्रियाकलापमा धेरै फस्ने गरेका छन् । त्यहीकारण लकडाउन समयमा साइबर अपराधका घटनामा बृद्धि भएको ब्यूरोको बुझाई छ । साइबर ब्यूरोकाअनुसार बिलिङ्ग, ह्याकिङ्ग, डाटा चोरीजस्ता घटनाहरु दैनिक हुनेगरेका छन् ।
घटनाको प्रवृत्ति हेर्दा दैनिक बिभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी इन्टरनेटमा राख्ने, अश्लील फोटो तथा भिडियोहरु अनलाइनमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौति माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बीर प्रयोग गरेर, प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य संघ संस्थाहरुको वेभसाइट ह्याक गर्ने, ह्याकिङका लागि विभिन्न तरिकाले आक्रमण गर्ने, फेसबुक आइडी ह्याक गरी आफन्त साथीहरुसँग रकम मागी ई–सेवामार्फत ठगी गर्नेगरेको साइबर ब्यूरो भोटाहिटीले जनाएको छ।
ब्यूरोकाअनुसार चालु आर्थिक वर्षको हालसम्मको विवरणअनुसार प्राप्त निवेदन एक हजार २५७ रहेको छ । साप्ताहिकरुपमा प्राप्त निवेदन ९२ वटा छन् भने चारवटा मुद्दा नै दर्ता भएको व्यूरोको तथ्यांक छ। डिजिटल समयमा मोबाइल, कम्प्यूटर, ल्यापटपजस्ता उपकरणको प्रयोगले काममा सहज गरेसँगै चुनौति पनि थपिएको छ।
अनाधिकृतरुपमा अरुको डाटाहरु नियन्त्रणमा लिने, पैसा माग्ने, डाटाहरु डिलिट गर्नेजस्ता अनलाइन प्रवृति बढेको साइबर ब्यूरोका प्रहरी पप्पुकुमार झाले बताए । उनकाअनुसार नेपालमा २० देखि ३० वर्ष उमेर समूहका मानिसहरु आपराधिक क्रियाकलापमा बढी फस्ने गरेका छन्। साइबर क्राइमसम्बन्धी ज्ञान नभएर यी समूहका मानिसहरु अपराधजन्य काममा फस्ने गरेको उनको बुझाई छ।
झाले भने, “फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, ट्वीटर, टिकटकजस्ता सामाजिक सञ्जालमा यस्ता गतिविधि बढेको पाइएको छ।”
डिजिटल र सामाजिक सञ्जाल प्रयोग गरी अश्लील तस्वीर, भिडियो आदानप्रदान, सार्वजनिक गर्ने, धम्क्याउने, बद्नाम गर्ने, ह्याक गरी अपहरणसम्मको शिकार हुनेमा युवा समूहको संलग्नता बढी पाइएको छ ।
“अश्लील भिडियो, फोटोहरु पठाइ गैरकानूनी काम गर्ने, स्मार्टफोन, ल्यापटपलगायत विभिन्न ग्याजेट र डिजिटल माध्यमको सर्वसुलभतामा हुर्किरहेका पछिल्लो पुस्ताहरु अपराधिक गतिविधिमा संलग्न हुनेक्रम बढेको छ” झाले भने, “लुकीछिपी क्राइम भएर विश्वको जुनसुकै ठाउँबाट आक्रमण गर्न सजिलो हुनेभएको छ ।” उनकाअनुसार नेपालमा प्रष्ट कानून नभएकाले पनि यस्ता क्रियाकलाप बढिरहेका छन् ।
“अपराधीको सजायमा पारस्परिक सम्बन्ध हुने व्यवस्था नहुँदा समस्या उत्पन्न हुनेगरेको छ,” उनले थप भने, “जति पनि वेबसाइट छन् त्यसको नेपालमा शाखा हुनुपर्ने, कुनै घटना भएमा तत्काल डाटा उपलब्ध गराउन सक्ने कानून र नियम हुनुपर्छ ।” त्यस्तो व्यवस्था भएमा अपराधीलाई समातेर सजाय दिन सजिलो हुने उनको भनाई छ ।
नेपालमा डिजिटल सुरक्षाको आवश्यकता धेरै रहेको दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता तथा उप–निर्देशक अच्युतानन्द मिश्रले बताए। उनले भने, “अहिले डिजिटल सुरक्षाको आवश्कता धेरै छ ।”
यस सम्बन्धी सुरक्षा नेपाल दूरसञ्चार प्राधिकरणले गर्ने भए तापनि कुनैबेला त्यस्तो घटना, घट्नसक्ने बताए। “यसका लागि अहिले हामीले डिजिटलको युगमा प्रवेश गरेकाले बैकिङ्ग, कारोबारहरु सबै डिजिटल सुरक्षा नभई हुँदैन, त्यसकारण इन्टरनेट सेवा प्रदायक (आइएसपि) लाई साइबर अडिट प्रत्येक वर्ष गराउनुपर्ने छ,” उनको भनाई छ। साइबर क्राइमबाट बच्न सेवा प्रदायक सबैलाई अनिवार्य साइबर अडिट गर्न उनले आग्रह गरे।
यस्तै, नेपाल प्रहरीले त्यसकालागि स्थानियस्तरमा सामुदायिक प्रहरीमार्फत् स्कुल, टोल, गाउँघरमा सडकनाटकजस्ता कार्यक्रम गरी जनचेतना फैलाउने काम गरिरहेको साइबर ब्यूरोका प्रहरी निरिक्षक राजकुमार खड्गीले बताए। उनकाअनुसार हाल उच्च दरमा साइबर अपराध बढिरहेको छ ।
“यो अवधिमा देशभरबाट लोकेशन ट्याग गरी २८ वटा सुसाइडका घटनालाई ठाउँको ठाउँ नियन्त्रण गरेका छौँ, जसमा तीन जनालाई सुसाइड गर्नबाट रोक्न सकिएन। २५ जनालाई बचाउन प्रहरी सफल भयो । अपराध गर्नेले गरेर जान्छ तर उनीहरुको परिवारमा कति तनावको अवस्था सिर्जना हुन्छ अपराध गर्नेले महसुश पनि गर्दैन्,” उनले भने । गोरखापत्रअनलाइन
प्रकाशित: १६ आश्विन २०७८, शनिबार