
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटिदिएकोमा नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)ले आपत्ति जनाएको छ।
दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै नेपाल विद्युत प्राधिकरणबाट राज्यका विभिन्न स्थानहरुमा जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको प्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण हुन पुगेको उल्लेख गरेको हो
“इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरण बीच पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपाल विच छलफल गरी विवाद समाधान गर्न प्रयास भै रहेको अवस्थामा अनायास अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ । दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ । यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्य प्रति यस प्राधिकरण दुखः व्यक्त गर्दछ,” सूचनामा भनिएको छ ।
अतः राज्यको अति आवश्यक सेवाको अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोध समेत गरेको छ।
यसका साथै हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुदा सबै पक्ष वसी आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्वन्ध सबै पक्षमा अनुरोध गरेको छ।
प्रकाशित: १६ आश्विन २०७८, शनिबार