
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायकहरुले कुलमान घिसिङ्गको आदेशमा जबर्जस्ती नेपाल विद्युत प्राधिकरणले तार काटिदिएको आरोप लगाएका छन् ।
उनीहरुले एकतर्फीरुपमा पोल भाडा दर बढाएर तिर्न दबाब दिँदै आएको प्राधिकरणले आजदेखि एकतर्फीरुपमा तार काटेर दुख दिएको आरोप लगाएका हुन्।
अत्यावश्यक सेवाअन्तरगत पर्ने दूरसञ्चार सेवामा सिधै आक्रमण गरेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले समग्र देशको दूरसञ्चार सेवालाई नै चुनौती दिएको बताए ।
“दूरसञ्चार सेवामा कुलमानले सिधै आक्रमण गरेका छन् । यसले सबै ग्राहकहरुको सेवामा तत्काल असर पर्नेछ,” इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का सिईओ सुवास खड्काले भने ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीले सबैतिर विद्युत प्राधिकरणले तार काटिदिएको जानकारी दिएका छन् । यस बारेमा आइस्पानको आकस्मिक बैठक बसिरहेको जानकारी दिए।
अर्का एक इन्टरनेट सेवा प्रदायकले भने कुलमानले दूरसञ्चार क्षेत्रमा गिद्दे दृष्टि लगाएको आरोप लगाए।
“कुलमानले नेपालको समग्र दूरसञ्चार क्षेत्र आफ्नो संस्थाभन्दा ठूलो भएको र त्यसले विद्युत प्राधिकरणको भन्दा धेरै आम्दानी गरेको भन्दै गिद्दे दृष्टि लगाएका हुन् । यसले सरकारलाई नै चुनौती दिएको छ,” उनले दाबी गरे ।
यसरी काटियो इन्टरनेट सेवाको तार हेर्नुस् भिडियो-
प्रकाशित: १६ आश्विन २०७८, शनिबार