
काठमाडौं ।
नेपालमा अनुमति नै नलिई ओटीटी एप्स, आईपीटीभी लगायत प्रसारण भइरहेको भन्दै केबल टेलिभिजन व्यवसायी महासंघले आपत्ति प्रकट गरेकोछ।
महासंघले इन्टरनेट, ओटीटी एप्स, वेभ ब्राउजिङ, आईपीटीभी लगायतले नेपालभित्र प्रसारणका लागि अनुमति नै नलिई टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेको आरोप लगाएको हो।
त्यसैगरी उनीहरुले नेपाल विद्युत प्राधिकरणले पोलको भाडा एकतर्फी रूपमा बढाएको भन्दै विरोध जनाएका छन्।
बिहीबार काठमाडौंमा राष्ट्रिय भेला गरेर उनीहरूले ओटिटी एप, वेभ ब्राउजिङ, आइपिटिभी, भिओडीलगायतले प्रसारण अनुमति नलिई प्रसारण गरिरहेकाले यस्ता गैरकानुनी प्रसारण बन्द गराउनुपर्ने माग राखेका छन् ।
राष्ट्रिय प्रसारण ऐन, २०५९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रसारणको अनुमति नलिई कार्यक्रम प्रसारण नपाईने भएपनि ती कम्पनीहरुले प्रसारणको अनुमति नै नलिई कार्यक्रम प्रसारण गरिहेको उनीहरुले बताए।
गैरकानूनी ढंगबाट चलेको प्रसारणलाई आवश्यक कारबाही गरेर केबल व्यवसाय बन्द हुनबाट रोक्न महासंघले माग गरेको छ।
यस्तै, केबल व्यवसाय नै धरासायी बनाउने नियत राखी नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएकाले उक्त निर्णय फिर्ता गर्नुपर्ने समेत महासंघको माग छ ।
अध्ययन बिना नै तथा सरोकारवालाहरूसँग छलफलै नगरी एकतर्फी रूपमा प्राधिकरणले वृद्धि गरिएको भाडा दर रद्द नभए सेवा अवरूद्ध गर्ने चेतावनी उनीहरूले दिए।
प्रकाशित: १४ आश्विन २०७८, बिहीबार