
काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबरहरुलाई पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ।
महासंघले आज प्रेस विज्ञप्ती जारी गर्दै महासंघको एसोसिएट संस्था पत्रकारिता अनुसन्धान तथा तालिम समाज नेपालका सदस्यद्वय प्रदीप भण्डारी र रोधन तामाङ तथा महासंघको स्वतन्त्र समाचार सेवा शाखाका सदस्यद्वय शिशिर अधिकारी र पिंकला कार्कीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
युट्युबमार्फत समाचार सार्वजनिक गरेको विषयलाई प्रहरीले चारै जना पत्रकारलाई विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरेको शाखाले जानकारी दिएका छन् ।
प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर उजुरी गर्ने तथा त्यसको निरुपण गर्ने अधिकार प्रेस काउन्सिल नेपालको भएको भन्दै काउन्सिलको निर्णयमा चित्त नबुझे अदालत जाने बाटो सुनिश्चित रहेको बारेमा स्मरण गराएको छ ।
तर त्यसलाई बेवास्ता गर्दै प्रहरीले पत्रकारलाई पक्राउ गरिनु आपत्तिजनक भएको र महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका घटना नदोहोर्याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।
यसका साथै, पत्रकारलाई पनि व्यक्तिको गोपनियतालगायतका विभिन्न हक प्रतिकूल नहुने गरी पत्रकार आचारसंहिताको पूर्ण पालना गरेर मात्र आफ्ना सामग्री सार्वजनिक गर्न महासंघले भनेको छ।
सम्बन्धित समाचार-
युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ
प्रकाशित: १४ आश्विन २०७८, बिहीबार