
काठमाडौं ।
टोयोटाको भगिनी संस्था वोभन प्लानेट होल्डिङ्सले रेनोभो मोटर्स नामको स्टार्टअप कम्पनी खरिद गरेको छ। यो स्टार्टअपले स्वायत्त सवारीका लागि अपरेटिङ सिस्टम निर्माण गर्दै आएको थियो।
कनेक्टेड सफ्टवयरसहितका स्वचालित सवारी निर्माणका क्षेत्रमा तीव्र रुपमा लाग्ने टोयोटाको लक्ष्यलाई मूर्त रुप दिने हिसाबले यो नयाँ कम्पनी खरिद गरेको आकलन गरिएको छ।
तर यी दुई कम्पनीबीच के कति रकममा सम्झोता भएको हो भन्ने चाहिँ खुलेको छैन।
टोयोटाले वोभन प्लानेट यसै वर्षको जनवरीमा आर्टिफिसियल इन्टेलिजेन्सयुक्त सवारीको विकासमा लगानी गर्ने उद्देश्यले स्थापना गरेको थियो।
त्यस बेलादेखि कम्पनीले चालकरहित सवारीका लागि रियल-टाइम, हाइ डेफिनिशन म्याप तथा डाटा उपलब्ध गराउने कारमेरा तथा लिफ्टको लेभल ५ स्वायत्त सवारी विभाग किनिसकेको छ।
सिलिकन भ्यालीमा अवस्थित रेनोभोले स्वायत्त सवारीहरुका समूह सञ्चालन गर्न आवश्यक पर्ने सबै प्रकारका सफ्टवयरहरुलाई एकत्रित गर्ने अपरेटिङ सिस्टम बनाउँछ।
क्रिश हेजर र जेसन स्टिन्सनले सन् २०१० मा स्थापना गरेको रेनोभो त्यस बेलादेखि थुप्रै चाखलाग्दा अटोमोटिभ परियोजनाहरुमा सहभागी हुँदै आएको छ।
केही समयअघि कम्पनीले चालकको ध्यान मात्र नभइ यात्रु तथा पैदलयात्रीको अनुहारको अभिव्यक्तिबाट उनीहरुको सम्वेदना थाहा पाउने एभी सिस्टम निर्माण गरेको थियो।
यसका लागि उसले एआई स्टार्टअप कम्पनी एफेक्टिभासँग साझेदारी गरेर यो प्रविधिलाई थुप्रै परीक्षणका लागि तयार सवारी साधनमा प्रयोग गरेका थियो।
प्रकाशित: १४ आश्विन २०७८, बिहीबार