सन् २०३५ सम्ममा विद्युतीय गाडीमात्र उत्पादन गर्ने थाइल्यान्डको लक्ष्य

  • Technology Khabar | ११ आश्विन २०७८, सोमबार
सन् २०३५ सम्ममा विद्युतीय गाडीमात्र उत्पादन गर्ने थाइल्यान्डको लक्ष्य

काठमाडौं ।

थाइल्यान्डले समग्र अटोमोटिभ आपूर्ति श्रृङ्खलासहितको कार उत्पादन केन्द्र स्थापना गर्ने भएको छ।

यो टोयोटा, होन्डा, निसान, जीएम मोटर्स र मर्सिडिज बेन्ज लगायतका अन्तरराष्ट्रिय कार निर्माताहरुका लागि लक्षित हुने बताइएको छ।

सन् २०१८ र २०१९ का बीच थाइल्यान्डमा बर्सेनि २० लाख कार निर्माण भएको स्टाटिस्टाको तथ्याङ्कमा उल्लेख छ। २०२० मा कोरोना महामारीका कारण यो सङ्ख्या ऐटेर १४ लाखमा झरेको थियो।

विश्वका कार निर्माताले कार्बन उत्सर्जन नगर्ने गाडीहरुमा ध्यान केन्द्रित गरिरहेका बेला थाइल्यान्डले पनि विद्युतीय सवारीमा जोड गर्न लागेको हो।

बैकक पोस्टका अनुसार थाइल्यान्डको राष्ट्रिय विद्युतीय सवारी नीति समितिले देशमा कार, मोटरसाइकल र बस गरी सन् २०३५ सम्ममा जम्मा १ करोड ८४ लाख थान ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ। यसमा सन् २०२५ सम्ममा १० लाख र २०३० सम्ममा ६० लाखको योजना समावेश रहेको छ।

यसबाहेक विद्युतीय पिकप ट्रकका हकमा थाइल्यान्डले सन् २०२५ सम्ममा ४ लाख थान, २०३० सम्ममा २९ लाख ४० हजार थान तथा २०३५ सम्ममा ८६ लाख ३० हजार थान उत्पादन गर्ने लक्ष्य लिएको छ।

नेशन थाइल्यान्ड पत्रिकाले कासिकोर्न रिसर्च सेन्टरको तथ्याङ्कलाई उद्धृत गर्दै थाइल्यान्डमा सन् २०२१ मा ५२ हजारदेखि ५५ हजारसम्म हाइब्रिड र प्लग्ड इन हाइब्रिड गरी दुई प्रकारका विद्युतीय सवारी उत्पादन गर्ने प्रक्षेपण गरिएको उल्लेख गरेको छ।

प्रकाशित: ११ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार