स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट: ६५६ पालिकासँग सम्झौता, दुई पालिकाद्धारा सेवा प्रदायक छनौट

  • Technology Khabar | १० आश्विन २०७८, आईतवार
स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट: ६५६ पालिकासँग सम्झौता, दुई पालिकाद्धारा सेवा प्रदायक छनौट

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका गाउँ विकास समिति तथा नगरपालिकाहरुमा न्यूनतम २० एमबीपीएसको इन्टरनेट सेवा पुर्याउने उद्देश्यले शुरु गरेको कार्यक्रममा स्याङ्गजा र उर्लाबारीमा काम शुरु भएको छ।

प्राधिकरणले देशभरका पालिकाहरुमा रहेका सरकारी कार्यालयहरु स्वास्थ्य चौकी तथा विद्यालयहरुमा इन्टरनेट सेवा जडान तथा बिस्तारको काम गरिरहेको छ। सोहि अन्तरगत प्राधिकरणले हालसम्म ६५६ पालिकाहरुसँग सम्झौता गरिसकेको छ भने ती मध्ये दुई पालिकाहरुले काम शुरु गरिसकेको जानकारी दिएको छ।

स्याङ्गजाको गल्याङ्ग नगरपालिका तथा मोरङ्गको उर्लाबारी नगरपालिकाले सम्झौताअनुसार काम समेत शुरु गरिसकेको छ। गल्याङ्गले साउन २४ गते र उर्लाबारीले साउन ३२ गते सेवा प्रदायकसँग सम्झौता गरिसकेका छन् ।

प्राधिकरणका उप निर्देशक विनोद चन्द्र श्रेष्ठकाअनुसार दुई नगरपालिकाहरुले सेवा प्रदायकसँग सम्झौता समेत गरेर काम शुरु गरिसकेका छन् ।

“दुबैले साउन महिनामा नै सेवा प्रदायक कम्पनीसँग सम्झौता गरिसकेको जानकारी पठाएका छन्। अन्य पालिकाहरु सेवा प्रदायक छनौटको प्रकृयामा रहेका छन्,” श्रेष्ठले भने।

गल्याङ्गमा स्याङ्गजा मिडिया प्रालीले इन्टरनेट सेवाको जडान तथा बिस्तारको काम गर्नेछ भने उर्लाबारीमा पाथिभरा नेटवर्कले सेवा उपलब्ध गराउने बताईएको छ।

प्राधिकरणले सरकारको नीतिअन्तरगत न्यूनतम २० एमबिपिएसको इन्टरनेट सेवा देशभरका पालिकाहरुमा पुर्याउने लक्ष्य राखेको छ । जसमध्ये ६७७ जिल्लामा सेवा पुयाईने योजना छ।

त्यस बाहेकका भुकम्प प्रभावित जिल्लाहरुका लागि छुट्टै कार्यक्रम संचालनमा रहेको छ।

पालिकाहरुले आफू मातहतका स्थानीय तहमा रहेका वडा कार्यालय सामूदायिक माध्यमिक विद्यालय स्वास्थ्य चौकीलगायतमा इन्टरनेट सेवा दिनेछन् । यसको लागि पालिकाहरुले नै सेवा प्रदायक छनौट गरी सेवा जडान तथा पहुँच पुर्याएको प्रमाण पेश गरेसँगै प्राधिकरणले साे बापतको रकम भुक्तानी दिनेछ।

यसका साथै प्राधिकरणले देशभरका आधारभूत विद्यालय भएका करिब २३ हजार स्थानहरुमा २० एमबीपीएसको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्य लिएको छ।

प्रकाशित: १० आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...