
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेका विश्वव्यापी फाइभजी प्रयोगकर्ता ४९ करोड नाघेको छ।
ह्वावेले हालै एउटा पत्रकार सम्मेलन गरेर विश्वभरमा १७० टर्मिनलमार्फत् यति परिमाणमा प्रयोगकर्ता पुगेका जानकारी दिएको हो।
उक्त पत्रकार सम्मेलनमा कम्पनीका रोटेटिङ अध्यक्ष शु झिजुनले मुख्य मन्तव्य व्यक्त गरेका थिए।
उनको मन्तव्य फाइभजी विकासमा बढी केन्द्रित थियो। उनले कोरोना महामारी, कार्बन उत्सर्जनमा कमी तथा बढिरहेको जटिल वैश्विक व्यवसायिक वातावरणका कारण विश्वले डिजिटल रुपान्तरण यथार्थपरक र अत्यावश्यक भइसकेको महसुस गरेको बताए।
म्याक्किन्जेको तथ्याङक अनुसार वैश्विक डिजिटलाइजेशन प्रक्रिया पछिल्ला ७ वर्षमा निकै विकास भइसकेको छ। एसिया प्रशान्त क्षेत्रका हकमा पछिल्लो १० वर्षमा यसले अझ छलाङ नै मारेको छ।
डिजिटल रुपान्तरणका लागि आवश्यक आधारभूत प्राविधिका हिसाबले हेर्दा फाइभजीको ग्लोबल व्यावसायिक नेटवर्क अपरिहार्य हुन्छ।
विश्वमा उद्योगको डिजिटलाइजेशनका लागि १० हजारभन्दा बढी परियोजनाहरु लागू गरिएका छन्। यसै क्रममा ह्वावेको फाइभजी प्रयोगकर्ताको सङ्ख्या ४९ करोड पुगेको बताइएको हो।
आईडीजीको तथ्याङ्कअनुसार विश्वभरका ८१ प्रतिशत संस्थाहरुले क्लाउड कम्प्युटिङ प्रयोग गरिरहेका वा क्लाउडमा एप्लिकेशनहरु राखेका छन्। यस्तै रोल्यान्ड बर्गरको अनुसन्धानले थुप्रै उद्योगमा एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले प्रवेश गरिसकेको छ।
उच्च प्रविधि, दूरसञ्चार वित्त, अटोमोटिभ तथा एसेम्ब्ली लगायतका ६० प्रतिशतभन्दा उद्योगहरुले एआईको प्रयोग गरिसकेका छन्।
प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार