विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमका उत्कृष्ट भएका बाल वैज्ञानिकहरु पुरस्कृत

  • Technology Khabar | ७ आश्विन २०७८, बिहीबार
विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमका उत्कृष्ट भएका बाल वैज्ञानिकहरु पुरस्कृत

काठमाडौं ।

विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा २०२१’ मा प्रथम भएका बर्दिया बढैयाताल गाउँपालिकाको भगवती माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत प्राञ्जल ज्ञवाली नगद र प्रमाणपत्रसहित सम्मानित भएका छन्।

‘विज्ञान तथा प्रविधिको उन्नत विकास, प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नारासहित नवौँ राष्ट्रिय विज्ञान दिवसमा आयोजित भर्चुअल कार्यक्रममा ज्ञवालीलाई नगद १० हजार रुपियाँ र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

युनेस्कोका लागि नेपाल आयोगको सचिवालय र विज्ञान शिक्षक समाज नेपालको आयोजनामा भएको विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा सातै प्रदेशबाट सहभागीमध्ये ज्ञवालीले बनाएको ‘स्मार्ट होम’ ले प्रथम स्थान हासिल गरेको थियो । ज्ञवालीले निर्माण गरेको ‘स्मार्ट होम’ मा बाहिरबाट गाडी आएपछि खुल्ने र गाडीभित्र छिरेपछि आफैँ बन्द हुने ढोका रहेका छन् ।

विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा प्रथम भएका ज्ञवालीले बिग्रेका विद्युतीय सामान, खेर गइरहेका कागज, फलाम प्रयोग गरेर सीसी क्यामरा, भिडियो क्यामरा, एटीएम मेसिन, खाने पानी वितरण मेसिन, मोबाइलको चार्जर, पावर बैङ्क, हाते माइक, आलाराम मेसिन, प्रोजेक्टर, ट्राइपट पङ्खा, मोबाइल फोन सेट, ल्यापटप, पैसा छाप्ने मेसिन र बाफ लिने मेसिन आदि सामग्री निर्माण गर्दै आएका छन् ।

विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०७८ मा प्रथम भएपछि आफूलाई अरू नयाँ केही गर्न प्रेरित भएको ज्ञवालीको भनाइ छ।

महामारीका कारण नेपालमा पनि विद्यालय बन्द भएपछि लकडाउनको समयको सही सदुपयोग गरेर आफू आविष्कारमा लागेको बताउँदै ज्ञवालीले भने, “महामारीका बेलामा कतिपय साथीलाई त फुर्सद भयो होला तर म भने निकै व्यस्त रहेँ ।”

विज्ञान शिक्षक समाज नेपालले आयोजना गरेको सो प्रतियोगितामा नेपालका सातै प्रदेशबाट छनोट भई आएका १४ जना प्रतिस्पर्धी थिए । ती विद्यार्थीले वैकल्पिक माध्यमबाट आ–आफ्ना प्रविधियुक्त परियोजना प्रस्तुत गरेका थिए ।

ती विद्यार्थीले निर्माण गरेका परियोजनाको मूल्याङ्कन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. सुरेशकुमार ढुङ्गेलको उपस्थितिमा पाँच सदस्यीय विज्ञ समितिबाट भएको थियो ।

उक्त प्रतियोगितामा होराइजन मावि कपिलवस्तुका अनुसन्धान पोखरेल द्वितीय, आदर्श मावि विराटनगरकी श्रेता पोखरेल तृतीय र पद्मकन्या मावि काठमाडौँका स्विती बाँस्तोला चतुर्थ भएका थिए । उत्कृष्ट भएका विद्यार्थीलाई क्रमशः १० हजार, आठ हजार, छ हजार र चतुर्थ हुनेलाई चार हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी बहुप्रतिभाशाली प्राञ्जलको प्रतिभा सम्मानका लागि बढैयाताल गाउँपालिका, उनको विद्यालय र विभिन्न सङ्घसंस्थाले उनलाई सम्मान तथा सहयोग प्रदान गरेका छन् । गोरखापत्रबाट

प्रकाशित: ७ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ७ आश्विन २०७८, बिहीबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ७ आश्विन २०७८, बिहीबार

NOC from Nagarik App

  • ७ आश्विन २०७८, बिहीबार

E-pension verification system launched

  • ७ आश्विन २०७८, बिहीबार