काठमाडौं ।
उड्ने कार अब सपना नभइ यथार्थमा परिणत भइरहेको छ। अमेरिकामा फेडरल एभिएशन एडमिनिस्ट्रेशन अर्थात् एफएएले फ्लाइङ कारलाई उडान भर्ने इजाजत दिइसकेको छ।
यसबाहेक विश्वका अन्य केही कम्पनीहरु पनि यस विषयमा द्रुत रुपमा काम गरिरहेका छन्।
यसैक्रममा भारतको भिनाटा एरोमोबिलिटी कम्पनीले पनि यो विषयमा काम अगाडि बढाएको छ। भारतको चेन्नईमा रहेको यो कम्पनीले हाइब्रिड फ्लाइङ कारको निर्माणमा जुटिरहेको बुझिएको छ।
कम्पनीले उक्त कारको मोडल पहिलोपटक नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिंधियासमक्ष पेश गरेको थियो।
सिंधियाले भिनाटा एरोमोबिलिटी एसियाको पहिलो हाइब्रिड फ्लाइङ कार छीट्टै तयार गर्ने बताए। यो कारको प्रयोग सर्वसाधारणको यात्राबाहेक मेडिकल इमरजेन्सीका बेला पनि हुने बताइएको छ।
अमेरिकामा फेडरल एभिएशन एडमिनिस्ट्रेशनले हालै यस्तै प्रकारको उड्ने कारलाई इजाजत दिएको छ। उक्त कारले १० हजार फिटमाथिसम्म उड्न सक्ने बुझिएको छ।
५ अक्टोबरमा सार्वजनिक हुन सक्ने
कम्पनीले आफ्नो आधिकारिक यूट्युब च्यानलमा एउटा भिडियो अपलोड गरेर यो फ्लाइङ कार आगामी अक्टोबर ५ तारिखमा सार्वजनिक हुने उल्लेख गरेको थियो। भिडियोमा दिइएको जानकारीमा यो कारको मूल्य लगायतका अन्य भित्री विवरणहरु खुलाइएको छैन।
प्रकाशित: ६ आश्विन २०७८, बुधबार