काठमाडौं ।
कोरियाली पप ब्यान्ड बीटीएसले हालै संयुक्त राष्ट्रसंघीय महासभामा गरेको भाषण यूट्युबमा ६४ लाख भ्यूज पुगेको छ।
ब्यान्डले दक्षिण कोरियाली कूटनीतिज्ञको हैसियतमा पहिलोपटक औपचारिक रुपमा गरेको भाषण यूट्युबमा यतिधेरै जनाले हेरेका हुन्।
आरएम, जिन, सुगा, जे होप, जिमिन, भी तथा जङकूक नाम गरेका ७ जना सदस्य रहेको केपप पुरुष ब्यान्डलाई गत हप्ता दक्षिण कोरियाली कूटनीतिज्ञको मान्यतासहित राष्ट्रपति मुन जाय इनसँग न्यूयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन कूटनीतिक पासपोर्ट पनि प्रदान गरिएको थियो।
बीटीएसका प्रतिनिधिले उक्त महासभामा गरेको ७ मिनेटको भाषण संयुक्त राष्ट्रसंघको भेरिफाइड यूट्युब च्यानलमा शेयर गरिएको र उक्त भाषण यो समाचार तयार गर्दासम्म ६४ लाख पटक हेरिसकिएको समाचार संस्था इन्साइडर डटकमले उल्लेख गरेको छ। उता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको भाषणभने ३५०० पटकमात्र हेरिएको बताइएको छ।
यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको उद्घाटन भाषण भने ५३०० पटक हेरिएको समाचारमा उल्लेख छ।
ब्यान्डको भाषणले यूएनसँग सम्बद्ध अन्य इभेन्टमा भएका स्ट्रिमिङको रेकर्ड पनि तोडेको छ। सन् २०१४ मा एम्मा वाट्सनको ‘हीफरशी’ भाषण ४६ लाख पटक हेरिएकोमा लियोनार्दो डिक्याप्रियोको जलवायु परिवर्तनका विषयमा सन् २०१४ मा गरेको भाषण ३४ लाख हाराहारी हेरिएको तथ्याङ्क छ।
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार