काठमाडौं ।
होन्डा मोटर कम्पनीको अमेरिका इकाइले सन् २०२४ मा सार्वजनिक भएपछि आफ्नो प्रोलग विद्युतीय एसयूभी गाडी बर्सेनि ७० हजार थान बिक्री गर्ने बताएको छ।
कम्पनीले सन् २०३० सम्म अमेरिकामा ५ लाख विद्युतीय गाडी बिक्री गर्ने लक्ष्य लिएका कारण अरु मोडलहरु पनि थप्ने योजना बनाएको छ।
यसबाहेक कम्पनीले आगामी सन् २०४० सम्म अत्र अमेरिका शत प्रतिशत कार्बन उत्सर्जन शून्य गाडीहरु परिचालन गर्ने नीति लिएको छ।
कम्पनीको यो निर्णय राष्ट्रपति जो बाइडेनले गत महिना सन् २०३० मा बिक्री हुने सबै नयाँ यात्रु सवारी साधनको आधा शून्य कार्बन उत्सर्जन सहितको हुनुपर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि आएको हो।
होन्डा प्रोलग जनरल मोटर्ससँगको सहकार्यमा डेट्रोइटमा रहेको अल्टियम प्लेटफर्ममा निर्माण भइरहेको बुझिएको छ। होन्डा तथा जीएमले साझेदारीमा अक्युरा ब्रान्डको अर्को विद्युतीय एसयूभी पनि विकास गरिरहेका छन्।
जीएमले प्रोलग र अक्युरा एसयूभी एसेम्बल गरेर सन् २०२४ मा बजारमा ल्याउनेछ। तर यसका लागि कुन प्लान्टको प्रयोग हुने तथा कति परिमाणमा र के नाममा यो अक्युरा ब्रान्डको गाडी आउनेछ भन्ने होन्डाले जानकारी दिएको छैन।
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार