
काठमाडौं ।
बेलायती रक्षा सचिव बेन वालेसले बेलायती सेनाका लागि काम गर्ने २५० अफगान दोभाषेहरुका इमेल एड्रेसलगायतका डाटा तोडमोड सम्बन्धमा अनुसन्धान शुरु गरेका छन्।
बेलायतमा बास खोज्दै गरेका अधिकांश लुकेर बसेका २५० जनाभन्दा बढी व्यक्तिको विवरण भूलवश रक्षा मन्त्रालयको इमेलमार्फत् शेयर भएको बुझिएको हो।
उनीहरुको इमेल एड्रेस सबै प्रापकहरुले देख्न सक्ने खालको थियो भने त्यसमा नाम र केहीको आधिकारिक फोटोसमेत रहेको थियो।
यसका लागि रक्षा मन्त्रालयले माफी मागेको छ।
उक्त ईमेल अफगानिस्तानमा रहेर काम गर्ने र हाल अन्य देशमा गएका हुन सक्ने दोभाषेहरुलाई पठाइएको थियो।
कन्जरभेटिभ पार्टीका सांसद तथा पूर्व रक्षा मन्त्री जोनी मर्सर दोभाषेहरुका बारेमा भएको यो घटना अति लज्जाजनक रहेको । तीमध्ये धेरै जना तत्काल घर स्वदेश नै फर्काइन सक्ने बताए।
उक्त मेल अफगानिस्तानमा रहेको अफगान रिलोकेशन एन्ड असिस्टेन्स पोलिसीका बेलायती टोलीका इन्चार्जले पठाएका थिए। उक्त टोली गत महिना तालिबानले सत्ता कब्जा गर्नुअघिसम्म ती दोभाषेहरुसँग सम्पर्कमा रहेको बीबीसीले जनाएको छ।
टोलीले ती दोभाषेहरुलाई स्थानान्तरण गर्न यथाशक्य सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
तर एक दोभाषेले सबैका इमेलमा विवरण गएकाले उनीहरुमध्ये अफगानिस्तानमै भएकाहरुले ज्यान नै गुमाउनुपर्ने जोखिम भएको बताएको बीबीसीले लेखेको छ।
कतिपयले ईमेल भूलवश आएको थाहा नपाएकोले सबैमा पुग्नेगरी आफूहरु अति जोखिमयुक्त अवस्थामा रहेको भन्दै जवाफ फर्काएका थिए।
त्यसपछि मन्त्रालयले अघिल्लो ईमेल भूलवश आएको र इमेल एड्रेस दुरुपयोग हुनसक्ने भएकाले डिलिट गर्न आग्रह गर्दै अर्को ईमेल पठाएको थियो।
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार