
काठमाडौं ।
टेस्लाले जर्मनीको बर्लिनमा गिगाफ्याक्ट्री अनावरण गर्नका लागि आयोजना हुने ‘गिगा फेस्ट’ इभेन्टका लागि रजिस्ट्रेशन शुरु भएको घोषणा गरेको छ।
कम्पनीका सीईओ इलन मस्कले सन् २०१९ मै टेस्लाले जर्मनीको बर्लिन शहर नजिक नयाँ फ्याक्ट्री स्थापना गर्ने घोषणा गरेका थिए। यो घोषणाको झण्डै २ वर्षपछि कम्पनी बर्लिनमा गिगाफ्याक्ट्री अनावरण गर्ने चरणमा पुगेको हो।
अघिल्लो महिना मस्कले टेस्लाले बर्लिनको फ्याक्ट्रीबाट मोडल वाई उत्पादन गर्ने योजना बनाएको र सरकारी अनुमोदन बाँकी रहेको बताएङ्को थियो। त्यसैबेला मस्कले केही इभेन्ट आयोजना गरेर उक्त फ्याक्ट्री अनावरण गर्ने बताएका थिए।
कम्पनीले सरकारी इजाजतका कारण यो यूरोपमा उत्पादन क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण रहेको यो फ्याक्ट्रीबाट उत्पादन शुरु गर्न पटक पटक मिति सारिरहनुपरेको छ।
हालै जर्मनीका सञ्चारमाध्यममा आएका खबर अनुसार सरकारले टेस्लालाई अन्तिम अनुमोदन दिन तयार भएको हो।
टेस्लाले यो अनुमोदन पाउनेमा ढुक्क हुँदै ‘गिगा फेस्ट’ नामको उक्त इभेन्टको रजिस्ट्रेशन खोलेको बुझिएको छ।
यो इभेन्ट सबैका लागि खुला हुने भए पनि टेस्लाले बर्लिन र ब्रान्डेन्बर्गका जिप कोड भएका व्यक्तिहरुलाई प्राथमिकता दिएको छ। टेस्लाले उक्त इभेन्टमा मोडल वाई को टेस्ट राइडको व्यवस्था गर्ने पनि जनाएको छ।
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार