धनगढीमाईमा विद्युतीय सेवाबाट भुक्तानी गर्न सकिने

  • Technology Khabar | ४ आश्विन २०७८, सोमबार
धनगढीमाईमा विद्युतीय सेवाबाट भुक्तानी गर्न सकिने
सांकेतिक तस्बिर

काठमाडौं ।

धनगढीमाई नगरपालिकाले विद्युतीय भुक्तानी सेवालाई प्रयोग ल्याएको छ ।

छैटौँ स्थापना दिवसका अवसरमा नगरपालिका प्रमुख हरिनारायण चौधरीले विभिन्न भुक्तानी तिर्न विद्युतीय भुक्तानी सेवा प्रयोगमा ल्याइएको जानकारी दिए। नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “कृषि, शिक्षा, पर्यटन, सञ्चार र पूर्वाधार, धनगढीमाई नगरपालिकाको समृद्धिको आधार भन्ने नारामा टेकेर भौगोलिक विकटताका १४ वटै वडावासीलाई सहज रूपमा सेवा प्रदान गर्न सो सेवा सुचारु गरिएको छ ।”

प्रदेश २ मा विद्युतीय भुक्तानी सेवाबाट भुक्तानी गर्ने पहिलो नगरपालिका धनगढीमाई भएको दाबी उनको छ ।

छ वर्षअघि विष्णुरकटी, धनगढी, भवानीपुर प्रध, हनुमाननगर प्रध, अयोध्यानगर र फुल्काहाकटी गरी छवटा गाउँ विकास समिति मिलाएर धनगढीमाई नगरपालिका गठन भएको थियो ।

असोज १ लाई स्थापना दिवसका रूपमा मनाउँदै आइरहेको नगरपालिकाले एक औपचारिक कार्यक्रम गरेर नौलो योजना र उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्दै आइरहेको छ । स्थापना दिवसका अवसरमा यस वर्ष नयनपुर अस्पतालमा कार्यरत ल्याब टेक्निसियन सन्ध्या लामा र इलेक्ट्रिसियन वेदानन्द चौधरीलाई जनही २५ हजार रुपियाँका दरले पुरस्कार प्रदान गरिएको छ ।

पूर्वपश्चिम लोकमार्गको उत्तरी चुरे क्षेत्रका दुर्गम वडाका बासिन्दालाई नगरपालिकामा आउन तीन घण्टा लाग्ने र सामान्य काममा दिनभर खर्चिनुपर्ने बाध्यता अन्त्य भएसँगै उनीहरू हर्षित भएका छन् । गोरखापत्र

प्रकाशित: ४ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...