काठमाडौं ।
जेट इन्जिनका लागि उड्डयन क्षेत्रमा चर्चित कम्पनी रोल्स रोयसले पहिलो पटक आफ्नो पूर्ण विद्युतीय विमानको सफल उडान गरेको छ।
स्पिरिट अफ इनोभेशन नाम गरेको यो विमानले १५ मिनेटको उडान पूरा गरेको र यो बृहत् उडान-परीक्षण चरणको शुरुवातमा आफूहरुले उक्त विमानको विद्युतीय शक्ति तथा प्रोपल्सन सिस्टमको प्रदर्शनको तथ्याङ्क संकलन गरेको कम्पनीको घोषणामा उल्लेख छ।
रोल्स रोयसले उक्त एक सिटे विमानमा हालसम्म विमानका लागि एसेम्बल गरिएकामध्ये सबैभन्दा शक्ति-घनत्वयुक्त ब्याट्री प्याक राखिएको दावी गरेको छ।
उक्त विमानमा ६००० सेल ब्याट्री प्याक राखिएको छ जसमा ४०० किलोवाट ५०० हर्सपावरभन्दा बढी शक्ति प्रदान गर्ने थ्री-मोटर पावरट्रेन समावेश गरिएको छ।
कम्पनीका अनुसार ३०० माइल प्रतिघण्टासम्मको रफ्तारमा उड्न सक्ने क्षमताको रहेको छ।
यो उडान पहिले तय भएको तालिकाभन्दा १ वर्षपछि तथा उड्ने ट्याक्सीको परीक्षणभन्दा ६ महिना पछि भएको हो। कम्पनीले टेक्न्याम कम्पनीसँग मिलेर उड्ने ट्याक्सी पनि विकास गरिरहेको छ।
प्रकाशित: ३ आश्विन २०७८, आईतवार