
काठमाडौं ।
तीन अमेरिकी पूर्व गुप्तचर अधिकारीले देशको कानूनविरुद्ध यूएईका लागि ह्याकिङ सेवा दिएको स्वीकार गरेका छन्।
अमेरिकाका कानुन अधिकारीहरुले ती आरोपीहरुले उक्त मुद्दा सुल्झाउनका लागि १७ लाख डलर तिर्न तयार रहेको बताएका छन्।
उनीहरुमाथि कम्प्युटर तोडमोड, डिभाइस पहुँचमा धोखाधडी तथा निर्यात नियन्त्रणको उल्लङ्घन गरेको आरोप लागेको छ।
उनीहरु यूएईको कुनै एक नाम नखुलेको कम्पनीका लागि विश्वभरका सर्भर, कम्प्युटर तथा फोन ह्याकिङको काम गर्ने गरेको बताइएको छ।
यस सम्बन्धमा यूएईका अधिकारी तथा ती आरोपित व्यक्तिहरुले कुनै प्रतिक्रिया नजनाएको बुझिएको छ।
यसै वर्षको शुरुवातमा यूएईमाथि पत्रकार, प्रतिस्पर्धी सरकार तथा विरोधीहरुको जासूसीका लागि इजरायली कम्पनी एनएसओ ग्रुपले बनाएको मालवयर प्रयोग गरेको आरोप लागेको थियो।
अमेरिकाको न्याय विभागले ती पूर्व गुप्तचर अधिकारीहरु मार्क बेयर, र्यान एडम्स तथा डेनियल गेरिकले शुरुमा यूएई सरकारलाई इन्टरनेशनल ट्राफिक इन आर्म्स रेगुलेशन अन्तर्गत रही साइबर सेवा प्रदान गर्ने अमेरिकी कम्पनीका लागि काम गरेको बताएको छ।
‘अमेरिकी कानूनको उल्लङ्घन हुनेगरी यस्ता गतिविधि गर्ने भाडाका ह्याकर र त्यसको समर्थन गर्नेहरुमाथि अपराधीका हिसाबले कानूनी कारबाही हुनुपर्छ’, न्याय विभागको राष्ट्रिय सुरक्षा प्रभागका निमित्त सहायक महान्यायाधीवक्ता मार्क लेस्कोले भने।
न्याय विभागले भने आफूले ती आरोपीमाथि नगद जरिबाना, यूएइका गुप्तचर वा कानुनी संस्थप्रति कठोर बन्ने र अब आइन्दा अमेरिकी सुरक्षा प्रमाणीकरण नखोज्ने कारबाहीको मागसहित मुद्दा दायर भएको जनाएको छ।
प्रकाशित: १ आश्विन २०७८, शुक्रबार