
काठमाडौं ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले घर जग्गा रोक्का तथा फुकुवा गर्नका लागि मालपोत कार्यालय धाउनु पर्ने बाध्यता हटेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग र कर्मचारी सञ्चय कोषबीच जग्गा रोक्का फुकुवा र धितो पास अनलाइन प्रणालीबाट गर्ने सहमति पत्रमा हस्ताक्षर भएसँगै अब अनलाइनबाटै घर जग्गा रोक्का तथा फुकुवा गर्न सकिने भएको हो।
विभाग र कोषबीच भू–सेवा प्रणालीमार्फत धितो रोक्का/फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको हो। सो सम्झौतामा विभागका महानिर्देशक शेषनारायण पौडेल र कोषका निमित्त प्रशासक जितेन्द्र धितालले गत मंगलबार हस्ताक्षर गरेका हुन् ।
विभागका महानिर्देशक पौडेलले मालपोत कार्यालयहरूलाई फेस लेस र क्यास लेस बनाउने अभियानमा विभाग रहेको र यो सम्झौता पनि यही अभियानकै उपलब्धि भएको बताए।
सञ्चय कोषका निमित्त प्रशासक धितालले विभागले जग्गा प्रशासनमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै आएकोमा खुशी व्यक्त गर्दै यसले डिजिटल नेपालको सरकारको अवधारणालाई सहयोग पुग्ने बताए।
यो सेवा भदौ ३१ गते बिहिबारबाट लागू भएको छ।
प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार