नेपाल टेलिकमको सेवा सबै स्थानमा नहुँदा सीयूजी शिक्षणको रकम खर्च भएन

  • Technology Khabar | ३१ भाद्र २०७८, बिहीबार

काठमाडौं ।

दोलखा जिल्लामा कोरोना महामारी बीचमा पनि पठनपाठनलाई निरन्तरता दिन सरकारले ल्याएको क्लोज युजर ग्रुप (सीयूजी) कक्षाका लागि आएको बजेट उपयोग भएको छैन्।

विद्यार्थी–शिक्षक–अभिभावकबीचको सिकाइ तथा वैकल्पिक सिकाइ सहजीकरणका लागि दोलखामा आएको एक करोडभन्दा बढी रकममध्ये १३ लाख ४४ हजार मात्र खर्च भएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ दोलखाको अभिलेखअनुसार जिल्लामा रहेका ३३९ विद्यालयमध्ये ४ कक्षादेखि १२ कक्षासम्म सञ्चालन भएका २५९ विद्यालयमा यस्तो कक्षाका लागि बजेट गएको थियो।

करिब ३४ हजार विद्यार्थीलाई तीन महिनाका लागि प्रतिविद्यार्थी ३७५ रुपियाँ बजेट आएको छ। प्रत्येक पालिकामा आएको बजेट विद्यालयको खातामा गइसकेको छ।

मेलुङ गाउँपालिकाले सबैको पहुँच हुन नसक्ने भन्दै करिब १५ लाख रुपियाँ विद्यालयमा पठाएको छैन् । शैलुङ गाउँपालिकाले आठ लाख, कालिञ्चोक गाउँपालिकाले १३ लाख दुई हजार, बिगु गाउँपालिकाले नौ लाख ७८ हजार, तामाकोसी गाउँपालिकाले १० लाख ५६ हजार, भीमेश्वर नगरपालिकाले नौ लाख रकम विद्यालयलाई पठाएका छन्।

यसैगरी वैतेश्वर गाउँपालिकाले तीन लाख ५८ हजार, गौरीशङ्कर गाउँपालिकाले आठ लाख ६६ हजार र जिरी नगरपालिकाले छ लाख ७९ हजार रुपियाँ विद्यालयको खातामा पठाएका छन्।

टेलिकम कार्यालय चरीकोटको अभिलेखअनुसार सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिकाका छ ओटा, गौरीशङ्कर गाउँपालिकाका दुई, वैतेश्वर गाउँपालिकाको एक, कालिञ्चोक गाउँपालिकाका १०, बिगु गाउँपालिकाका तीन र जिरी नगरपालिकाका दुई गरी २४ वटा विद्यालयका तीन हजार ४७३ विद्यार्थीले मात्र यो सेवा लिएका छन्। अन्य विद्यालय प्रक्रियामा नै आएनन् ।

सीयूजीबाहेकको कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा सिकाइ सहजीकरणअन्तर्गतको स्वास्थ्य सामग्री व्यवस्थापन अनुदानको रकम भने पालिकाहरूले खर्च गरेका छन् । गाउँ/नगरको सिफारिस, विद्यालयको पत्र, कम्प्युटर सफ्टवेयरको प्रक्रिया, नेपाल टेलिकमको सिम र सबै वडामा इन्टरनेटको पहुँच नहुँदा सीयूजीमा समावेश हुन नसकेको देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर दाहालले गुनासो गरे।

भीमेश्वर नगरपालिका भित्रै भए पनि तल्लो क्षेत्रमा नेट नहुँदा सीयूजीमा समोवेश हुन नसकेको फुलपा प्राथमिक विद्यालयका प्रधानाध्यापक हरिनारायण श्रेष्ठले दुःखेसो पोखे।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शङ्करबाबु श्रेष्ठले शिक्षकहरू प्रविधिमैत्री नहुँदा र लामो प्रक्रिया भएकाले सीयूजी कक्षा पूर्ण रूपमा सफल हुन नसकेको स्पष्ट पारे। उनले अहिले सबै विद्यालयमा पठनपाठन सुरु भए पनि सिकाइ सहजीकरण गर्न आएको रकम सदुपयोग गर्ने बताए। गोरखापत्र

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार