
काठमाडौं ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले काभ्रेपलान्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालमा निर्माणाधीन नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरका लागि विभिन्न सामग्री उपलब्ध गराएको छ।
कोइकाले विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा विद्यार्थीहरूका लागि अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले उपकरणहरू उपलब्ध गराएको विश्वविद्यालयले जनाएको छ । कोइकाको सहयोगमा केयूमा सन् २०१६ देखि अनुसन्धान र विकास क्षमताको वृद्धि गरी ग्रामीण भेगमा रहेका जनताको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेर एकीकृत ग्रामीण विकास परियोजना सञ्चालन भएको छ ।
कोइकाले इनोभेसन सेन्टरमा अनुसन्धानको लागि आवश्यक पर्ने उपकरणमध्ये पहिलो चरणमा १० करोड रुपियाँ बराबरको १७ थान उपकरण उपलब्ध गराएको केयूको एकीकृत ग्रामीण विकास परियोजनाका टिम लिडर प्रा.डा. बिमप्रसाद श्रेष्ठले जानकारी दिए । उनले कोइकाबाट उपकरणले नवीकरणीय ऊर्जा, कृषि, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा हुने अनुसन्धानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कोइका नेपालका कन्ट्री डाइरेक्टर जोङ सुङ्ग चोइ नेतृत्वको टोलीले विश्वविद्यालयका लागि उपलब्ध गराएको उपकरणहरूको अवस्थाका बारमा अनुगमन गरेको छ।
कोरियाली सरकारको सहयोगमा काठमाडौँ विश्वविद्यालयमा करिब ४५ करोड रुपियाँको लगानीमा इनोभेसन सेन्टर निर्माणको काम अघि बढेको छ। भवन निर्माणको काम सन् २०२२ को अन्तिममा सक्ने लक्ष्य लिइएको विश्वविद्यालयले जनाएको छ। गोरखापत्र
प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार