काठमाडौं ।
नेपाल रोलिङ्ग मिल्स एशोसिएसनले सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्नका लागि गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन र देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग गर्ने जनाएको छ।
एशोसिएसनले प्रेस विज्ञप्ती जारी गरेर स्वदेशभित्रै विलेट उत्पादन गर्नका लागि कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शुन्यमा झार्नु स्वागत योग्य कदम भएको उल्लेख गरेको हो ।
यसले देशभित्रै कच्चा पदार्थ मार्फत बिलेट उत्पादन गर्न र सो बिलेटमार्फत स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने र यसले देशभित्रै लगानी बिस्तार गर्न, भविश्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने तथा बजेटमा आएका नयाँ व्यवस्थाले स्वदेशी पूँजी र सिपमार्फत देशभित्र थप ६ अर्बको लगानी रोलिङ्ग मिल्स तथा डण्डी उद्योगमा थप हुने बताएको छ।
नयाँ व्यवस्थाले विद्युत खपत नहुने चिन्ताका बिचमा विद्युत खपत बढाउनेछ भन्दै यसले आगामी दिनमा स्वदेशी डण्डी उद्योगहरुले नयाँ आयोजनाबाट उत्पादन हुने ३ हजार मेगावाट विद्युतलाई खपत गर्न समेत सहयोग पुर्याउने तथ्य देखाएको छ ।
विद्युत खपत गर्ने मात्र नभई यसले हाल स्टील उद्योगमा उपयोग गर्नुपर्ने फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने गरेको करिब ४.५ अर्ब रुपैयाँ समेत स्वदेशभित्रै रहनेछ र यसले अन्य उद्योगहरुमा थप लगानी गर्न सकिने जारी विज्ञप्तीमा उल्लेख छ।
हाल नेपालमा करिब १६ लाख टन वार्षिक विलेट उत्पादनको क्षमता छ र जडित क्षमताको ८० देखि ९५ प्रतिशतसम्म उत्पादन हुनेगरी उद्योग संचालन गर्न सकिने र छिटै नै १० लाख टन बिलेट उत्पादन हुनेगरी उद्योग बिस्तार तथा योजना बनाउन सकिने बताईको छ ।
स्वदेशभित्रै पूर्णरुपमा बिलेट उत्पादन गर्दा सर्वसाधारण ग्राहकहरुले सिधै लाभ पाउनेछन् तथा कच्चा पदार्थ बाहेक समग्र सामग्री स्वदेशभित्रै उत्पादन गर्न सकिएको खण्डमा यसले ग्राहकहरुले किन्ने डण्डीको लागत घट्ने र ग्राहकरुलाई समेत सस्तो हुने एशोसिएजनले दाबी गरेकोछ ।
नेपाल जस्तो भूकम्पिय जोखिम भएको मुलुकमा सरकारले तोकेको मापदण्ड र न्यूनतम गुणस्तरमा प्रतिबद्ध हुँदै नेपाली उद्योगहरुले स्वदेशभित्रै डण्डी उत्पादन गर्दै आएको सर्वविदितै छ । स्वदेशमा नै उत्पादन गरिने बिलेटबाट तयार हुने डण्डीहरु उच्च गुणस्तरीय र मजबुत हुनेहुँदा यसले नेपाली निर्माण क्षेत्रमा सुरक्षा सुनिश्चित गर्दछ ।
यसैबिच यस नेपाल रोलिङ्ग मिल्स एशोसिएसनको नाममा केहि समूह तथा व्यक्तिहरुले अनधिकृतरुपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेकोमा यस एशोसिएसनको गंभिर आपत्ति जनाउँदै एशोसिएसनको नाममा त्यस्ता गतिबिधिहरु नगर्न र कसैले पनि सो बारेमा भ्रामक धारणा नबनाउन अनुरोध समेत गरेको छ ।
‘देशभित्र औद्योगिक वातावरण बनाउन र कोभिड १९ ले थला पारेको अर्थतन्त्रलाई उकास्न सरकार र निजी क्षेत्रको सहकार्य गर्नुको विकल्प छैन् । त्यसैले देशभित्रै नयाँ उद्योग निर्माण, उद्योग बिस्तार र रोजगार सिर्जना गर्न सबैले हातोमालो गर्न हार्दिक आब्हान गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।
हेर्नुस् एशोसिएसनको विज्ञप्ती जस्ताको त्यस्तैः
प्रकाशित: २८ भाद्र २०७८, सोमबार