काठमाडौं ।
विश्वका उत्कृष्ट फोर्टनाइट खेलाडीमध्ये एक बेलायती खेलाडीकी आमाले गेममा आफ्नो करियर बनाउन एउटा गेमिङ संस्थामा अनुबन्ध भएकी छिन्।
५८ वर्षीय एनी फिशले ‘बेन्जिफिशी’ नाम राखेका छोरा बेन्जी फिश तीन वर्षअघि प्रोफेशनल भएपछि उनको म्यानेजरको रुपमा काम गर्दै आएकी थिइन्।
फिशले आफूले गेमका बारेमा बुझ्न गत फेब्रुअरीदेखि गेम खेल्न थालेको बताइन्। उनले छिट्टै नै ठूलो सङ्ख्यामा अनलाइन फलोअर बढाएकाले एउटा गेमिङ कम्पनीले उनलाई भुक्तानीसहितको सम्झोतामा हस्ताक्षर गराएको हो।
‘मैले कहिले पनि फोर्टनाइट वा अन्य अनलाइन गेम खेलेर यस्तो सम्झोता गर्छु भन्ने सोचेको थिइनँ। त्यसले म धेरै उत्सुक भएको छु’, फिशले भनिन्।
उनी आफ्ना गेम ४ लाख ३० हजार फलोअर भएको आफ्नो ट्विच एकाउन्टमा स्ट्रिम गर्छिन् र म्याचको भिडियो आफ्नै फ्यान बेस बढ्दै गएको यूट्युब च्यानलमा अपलोड गर्छिन्। हाल यूट्युबमा उनका सब्सक्राइबर १ लाख ६५ हजार छन्।
सम्झोता अनुसार इस्पोर्ट्स तथा ग्यालेक्सी रेसरले मिलेर थेम्सको सनबरीकी बासिन्दा एनीलाई मासिक भुक्तानी दिनेछन्। रकम नखुलाइए पनि एनीले अब खेलेका भिडियो तथा सामाजिक सञ्जालमा फ्यानहरुसँग अन्तरक्रिया गरेबापत् भुक्तानी पाउनेछिन्।
यस सम्बन्धमा गेम खेल्न प्रोत्साहन गर्ने कम्पनी ग्यालेक्सी रेसरका सीईओ पल रोयले आफूहरुलेहरुले बेन्जी फिशकी आमालाई कम्पनीको कन्टेन्ट क्रियटर टिममा अनुबन्ध गर्न पाउँदा रोमाञ्चित भएङ्को बताएका छन्।
यसबारेमा एनीका छोरा बेन्जीले आफ्नी आमाले गेमिङ कम्पनीसँग अनुबन्ध हुनु निकै नै अनाैठो रहेको बताए। उनले आफू पहिले प्रोफेशनल गेमर बन्ने धुनमा लागेको र अहिले आफ्नै आमा त्यही बाटोमा हिँडेकाले यो निकै आश्चर्यजनक रहेको दोहोर्याए।
प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार