नेपाल टेलिकमको एफटिटिएच सेवा आएसँगै अन्य इन्टरनेट सेवा प्रदायकले शुल्क घटाएको दाबी

  • Technology Khabar | २१ भाद्र २०७८, सोमबार
नेपाल टेलिकमको एफटिटिएच सेवा आएसँगै अन्य इन्टरनेट सेवा प्रदायकले शुल्क घटाएको दाबी

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो एफटिटिएच सेवाको उपलब्धतासँगै देशभर फिक्स्ड वायर्ड इन्टरनेट सेवाको मूल्य घटेको दाबी गरेको छ।

सरकारी दूरसञ्चार कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै फाइबर टू दि होम(एफटिटिएच) सेवाको शुरुवात र उपलब्धतासँगै अन्य इन्टरनेट सेवा प्रदायकहरुले मूल्य घटाउन बाध्य भएको बताएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको एफटिटिएच सेवा आउनुभन्दा अगाडि मूल्य निकै महंगो भएको भन्दै टेलिकमको सेवापछि देशभर अन्य सेवा प्रदायकहरुले शुल्क घटाएको दाबी गरे ।

“एनटिसी कमजोर हुँदा जनताले सहि र सस्तो सेवा नपाउने र पाएपनि महंगो हुने गरेको छ । हाम्रो एफटिटिएको सुरुवातपछि अरु अपरेटरहरुले मूल्य घटाए । बजार हस्तक्षेपका लागि समेत कम्पनी ससक्त र आक्रामक हुनेछ,” उनले भने।

कम्पनीले देशभर एफटिटिएच सेवा बिस्तार गरिरहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए।

उनकाअनुसार एफटिटिएचको लागि अरु कम्पनीहरुको जस्तो नेटवर्क नबनाउने र शहरी सौन्दर्यलाई समेत ध्यान दिदईनेछ।

“अरुले बनाएको घिरौलाको झालजस्तो तारैतार भएको नेटवर्क हुँदैन्। अण्डरग्राउण्ड केबलिङ्ग गर्नेछौं । र यसले शहर सौन्दर्यमा समेत बनाउनेछ। यसको लागि थप प्रयास गरिनेछ,” प्रबन्ध निर्देशक अधिकारीले भने।

कम्पनीले चालु आवमा ११ लाख ७४ हजार घरधुरीमा आफ्नो एफटिटिएच सेवा पुर्याउने लक्ष्य लिएको र त्यसको डिजिटल म्यापिङ्गको कार्य सम्पन्न गरिसकेको जानकारी दिएको छ ।

कम्पनीका प्रवक्ता राजेश जोशीले हाल ५ लाख ६४ हजारका लागि नेटवर्क जडान कार्य सम्पन्न भईसकेको भन्दै १ लाख ८० हजार ग्राहकहरुकोमा सेवा बितरण गरिरहेको बताए । त्यसैगरि ५५ जिल्लाका १०८ स्थानिय तहका १३५ स्थानहरुमा सेवाको पहुँच पुगेको जानकारी दिए।

हाल देशभर नेपाल टेलिकमको एफटिटिएच सेवा १ लाख ८० हजार ५३४ सेवाग्राहीहरुसम्म जडान गरिसकिएको नेपाल टेलिकमले जानकारी दिएको छ।

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...