
काठमाडौं ।
ईए गेम्सद्वारा निर्मित ब्याटलफिल्ड मोबाइल आगामी शरद ऋतुबाट एन्ड्रोइड मोबाइलमा उपलब्ध हुने भएको छ।
सन् २०२२ मा पूर्ण भर्सन आउने यो गेमको मोबाइल बिटा भर्सन केही महिनामा उपलब्ध हुन लागेको यसै हप्ता निर्माता कम्पनीले जानकारी दिएको हो।
कम्पनीले यो शरद ऋतुको शुरुवातबाट इन्डोनेसिया र फिलिपिन्सका एन्ड्रोइड यूजरहरुमाझ सानासाना प्लेटेस्टको श्रृङ्लामा परीक्षण गर्ने योजना बनाएको छ।
‘हामीले परीक्षणलाई निरन्तरता दिइरहँदा परीक्षणको आकार र क्षेत्र पनि बढाउनेछाैं,’ कम्पनीले आफ्नो कम्युनिटी वेबसाइटमा उल्लेख गरेको छ।
शुरुको बिटा भर्सनको परीक्षणमा ग्रान्ण बजार नामको एउटा म्याप तथा फ्रेन्चाइजको कन्क्वेस्ट गेम मोड मात्र रहनेछ।
निर्माता कम्पनी ईएले ब्याटलफिल्ड मोबाइल २०२२ रिलिज डेट नजिक आउँदा यसका अन्य विवरण साझा गर्दै जाने योजना बनाएको छ। हालका लागि भने कम्पनीले कस्मेटिक आइटम मात्र भएको फ्री-टु-प्ले भर्सन उपलब्ध गराउने बुझिएको छ।
यीमध्ये केही आइटम अप्शनल सिजनल पासका माध्यमबाट प्राप्त गर्न सकिनेछ। मोबाइलले अन्य कन्सोल वा पर्सनल कम्प्युटरसँगको क्रसप्ले सपोर्ट गर्दैन। यो मोबाइलका लागि मात्र बनेको गेम भएको कम्पनीले प्रस्ट पारेको छ।
प्रकाशित: २० भाद्र २०७८, आईतवार