चार्जिङ स्टेसनका लागि जग्गा

  • Technology Khabar | १८ भाद्र २०७८, शुक्रबार
चार्जिङ स्टेसनका लागि जग्गा

काठमाडौं ।

बागमती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको विद्युतीय बस सञ्चालनका लागि चार्जिङ स्टेसन निर्माण गर्न मकवानपुरको मनहरी गाउँपालिकास्थित जग्गा सिफारिस गरिएको छ ।

मनहरी गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको वडा नं. ६ र ७ मा पर्ने जग्गा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माणका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चार्जिङ स्टेसन निर्माण गर्न जग्गा उपलब्ध गराउन पत्राचार गरेपछि उक्त निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार पालिकाको वडा नं. ६ र ७ मा रहेको लच्कास्थित सशस्त्र वेस क्याम्पनजिकैको करिब पाँच कट्ठा जग्गा चार्जिङ स्टेसन निर्माण स्थलका लागि उपलब्ध गराउन सिफारिस गर्ने निर्णय भएको बताए ।

बेलडाँडा कबुलियती वनअन्तर्गत पर्ने उक्त जग्गा हेटौँडाबाट करिब ३४ किमि पश्चिममा रहेको छ ।

यस्तै बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक जगदीशचन्द्र ढुङ्गानाले काठमाडौँ, धादिङ, काभ्रे, चितवन र नुवाकोट जिल्लामा चार्जिङ स्टेसन स्थल निर्माणका लागि जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

काठमाडौँको गोङ्गबु, नुवाकोटको बट्टार, काभ्रेको धुलिखेल, धादिङको बेल्खु तथा मकवानपुरको मनहरी र हेटौँडामा जग्गा प्राप्तिका लागि स्थानीय सरकार र सरोकारवाला निकायमा पत्राचारसहित प्रक्रिया अगाडि बढाइएको हो ।

उनले धादिङको बेल्खु र मकवानपुरको मनहरीमा स्थानीय तहले निर्णय गरेर पठाएकोले जग्गाको चार किल्ला खोलेर पठाउन पुनः पत्राचार गरिएको बताउँदै अन्य स्थानमा चार्जिङ स्टेसन स्थलका लागि जग्गा सम्झौता गर्ने प्रक्रिया चाँडै सुरु गरिने बताए ।

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार