निरन्तर भईरहेको वर्षाबाट यसरी जोगाउनुस् आफ्नो मोबाइल फोनलाई, हेर्नुस् उपायहरु

  • Technology Khabar | १३ भाद्र २०७८, आईतवार
निरन्तर भईरहेको वर्षाबाट यसरी जोगाउनुस् आफ्नो मोबाइल फोनलाई, हेर्नुस् उपायहरु

काठमाडौं ।

केही दिनयता देशभर मुसलधारे पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा बाढी र डुबान भएको छ भने पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ।

काठमाडौं उपत्यकासहित अन्य प्रदेशहरुमा पनि निरन्तर पानी परिरहेको छ।

जल तथा मौसम विज्ञान विभागले अझ केहि दिनसम्म निरन्तर पानी क्रम जारी रहने अनुमान गरेको छ। यस्तो बेलामा तपाईँको साथमा रहने स्मार्टफोनमा पानी पर्ने जोखिम निकै रहन्छ । त्यसैले हामी तपाईँलाई यहाँ आफ्नो फोनलाई पानी र झरीबाट कसरी बचाउन सकिन्छ भनेर केहि टिप्स दिँदैछौं ।

मोबाइल फोन भिज्नबाट यसरी जोगाउनुस्-

वाटरप्रुफ मोबाइल ब्याग

मोबाइल नै बोक्न वा राख्नका लागि बनाइएका वाटरप्रुफ ब्यागहरु पनि बजारमा प्रशस्त पाइन्छन् । बिशेष सुविधायुक्त यी ब्यागमा फोन राखेर बाहिरैबाट प्रयोग गर्न मिल्छ भने केही ब्यागलाई पाइन्ट वा बेल्टमा बाँध्न मिल्ने सुविधा हुन्छ । यसले गर्दा मोबाइलको सुरक्षामा न्यूनतम ध्यान दिँदा पनि हुन्छ ।

जिप-लक पाउचको प्रयोग

बर्षातमा आफ्नो मोबाइल सेटलाई भिज्नबाट जोगाउन बिशेष प्रकारले निर्माण गरिएको मोबाइल जिप लक खरिद गर्न सकिन्छ। बजारमा सजिलै पाइने जिप–लक पाउच वाटरप्रुफ प्याकेट हो । सस्तो मूल्य, सरल तथा पुनः प्रयोग गर्न सकिने विशेषताहरुका कारण यसलाई वर्षामा मोबाइल तथा ग्याजेटहरू जोगाउन प्रयोग गर्न सकिन्छ । यसभित्र मोबाइललाई राखेर वर्षामा पानीबाट जोगाउन सकिन्छ ।

बेलुनको कभर

एउटा बेलुन फुलाउने र उक्त फुलेको बेलुनमा मोबाइल टाँसेर थिच्दै क्रमशः बेलुन उल्टो हुने गरी बेलुनभित्र मोबाइल हाल्ने । त्यसो गर्दा फोन बेलुनभित्र छिरेपछि त्यसमा भएको सम्पूर्ण हावा निकालेर बेलुनलाई बाँध्ने । यसबाट पनि फोनलाई पानी र अन्य तरल पदार्थबाट जोगाउन सकिन्छ ।

इयरफोनको प्रयोग

बर्षातको समयमा कल रिसिभ गर्नुपर्दा फोनलाई बाहिर निकालेर कुरा गर्दा पानी पस्ने वा भिज्ने हुँदा ब्लुटुथ अथवा इयरफोन प्रयोग गर्न सकिन्छ। बजारमा वाटरप्रुफ ब्लुटुथ र हेड्सेटहरु पनि उपलब्ध छन् ।

वाटरप्रुफ स्प्रे कोट

बजारमा बिभिन्न ब्रान्डका वाटरप्रुफ स्प्रे उपलब्ध हुन्छन् । उक्त स्प्रे फोनमा छर्किएपछि करिब ६ देखि १२ महिनासम्म फोन वाटरप्रुफ हुन्छ । यसले गर्दा वर्षामा पानीको प्रयोग भए पनि मोबाइल सुरक्षित रहन्छ । तर यसले अन्य असर पार्ने तर्फ भने सचेत हुनुपर्दछ ।

सामान्य प्लास्टिक कभर

कम खर्चमै यो समस्या समाधान गर्नुछ भने सामान्य प्लास्टिकले बनेको कभर ब्याग प्रयोग गर्न सकिन्छ। प्लास्टिकबाट बनेका जिप प्याक बजारमा प्रसस्त उपलब्ध छन्। यस्ता प्याकमा पानीका साथै अन्य कुनै तरल पदार्थ पस्दैन । तपाईँले आफ्नो मोबाइलको साइजमा यस्तो कभर प्रयोग गर्न सक्नुहुन्छ ।

वाटरप्रुफ मोबाइल फोनको प्रयोग

बजारमा वाटरप्रुफ मोबाइल फोन पनि उपलब्ध छन्। यस्ता मोबाइल सेटमा हल्काफुल्का वर्षा वा सामान्य पानी पर्दा पनि कुनै समस्या हुदैन। केहि महंगा मोबाइल फोन सेटहरु निश्चित तहसम्म वाटर रेसिष्ट वा वारप्रुफसहित बजारमा उपलब्ध छन् । फोनमा आईपी ६७ वा आईपी ६८ जस्ता रेटिङ्ग भएका फोन किन्दा ति पानीबाट अधिक सुरक्षित हुन्छन् ।

डिफल्ट कल सेटिङ्ग

आफु पानीमा भिजिरहेको बेला वा फोन रिसिभ गर्न नसकिने अवस्थामा फोन उठाउनु भन्दा कल काटेर पछि कल ब्याक गर्ने वा डिफल्ट फोनमै म्यासेज जाने ब्यबस्था गर्न सकिन्छ। फोन काट्दा स्वचालित रुपमै कलरको मोबाइलमा जान्छ, जसले गर्दा पछि कल गर्न सकिन्छ अथवा फेरीपछि उसले नै कल गर्न सक्छ।

भिजेका कारण मोबाइलमा कुनै खराबी आयो भने त्यसलाई आफै जथाभावी रूपमा बनाउने प्रयास गर्नु हुँदैन । भिजेको मोबाइलबाट कतै कल गर्नु हुदैन। त्यसो गर्दा ब्याट्रीमा सर्ट सर्किट भएर मोबाइलमै खराबी आउन सक्छ। त्यसैले नजिकैको सर्भिस सेन्टरमा गएर मर्मतका लागि देखाउनुहोस् ।

प्रकाशित: १३ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार