
काठमाडौं ।
हालै बाहिरिएको एक रिपोर्टमा एप्पलको आउँदै गरेको आईफोन १३ तथा एयरपड ३ सार्वजनिक हुने मिति लीक भएको दावी गरिएको छ।
उक्त दावी अनुसार आउँदै गरेको आईफोन सेप्टेम्बरको तेस्रो हप्ता सार्वजनिक हुनेछ। यो सिरिजका डिभाइसका लागि त्यसको केही दिनअघि अर्थात् सेप्टेम्बर १७ शुक्रबारका दिनदेखि प्रि अर्डर खुल्नेछ।
यसै गरी एयरपड ३ भने सेप्टेम्बर ३० तारिखमा सार्वजनिक हुनेगरी मिति तोकिएको बताइएको छ।
चिनियाँ प्रकाशन आईटी होमले एउटा नाम नखुलाइएको ई-कमर्स साइटबाट वेबोमा पहिलोपटक पोस्ट गरिएका सामानहरुको सूचीलाई उद्धृत गरेको छ जसमा आईफोन १३ पनि समाविष्ट छ।
यो मिति कम्पनीले पहिलेदेखि भन्दै आएको सेप्टेम्बर १४ को आसपास देखिए पनि यसमा प्रयोग भएका फोटोहरु भने गलत वा ई-कमर्स साइटको डाटा उपलब्ध गराउनेको कल्पनामा आधारित भएजस्तो देखिन्छ।
स्क्रीनशटमा ४ ओटा आईफोन मोडल र सेप्टेम्बर १७ को मिति रहेको छ भने अर्को हप्तामा एयरपड ३ को प्रवेश हुने देखिन्छ।
एयरपडको लिस्टिङबाट यो आईपीएक्स४ वाटर रेजिस्टेन्सयुक्त हुने बुझ्न सकिन्छ भने त्यो बाहेक अन्य विवरण उपलब्ध छैन।
तर यो मिति विश्लेषकहरुले प्रक्षेपण गरेको मितिसँग मेल नखाएको र एप्पलले यसबारेमा आधिकारिक धारणा बाहिर नल्याएकाले यो हल्लामै सीमित रहन्छ वा सही हुन आउँछ भन्नेमा शंका गर्ने ठाउँ धेरै छ।
प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार