काठमाडौं ।
नेपालमा आर्थिक वर्ष २०७७/७८ भरीमा कुल १ लाख ५३ हजार ७३ ओटा बीटीएस (बेस स्टेशन) तथा त्यसमा प्रयोग हुने उपकरणहरु आयात भएका छन्।
नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि २०७८ साउन मसान्तसम्मको प्रतिवेदन अनुसार १ वर्षमा जम्मा यति परिमाणमा यस्ता उपकरण आयात भएको देखिएको छ।
यी उपकरणका मूल्य ३० करोड ८ लाख ९ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
आयात भएकामध्ये चीनबाट २९ करोड ३१ लाख ६६ हजार रुपैयाँ बराबरको १ लाख ५३ हजार ३० ओटा बीटीएस टावर तथा त्यसमा प्रयोग हुने उपकरण आयात गरिएका हुन्।
यीबाहेक भारत, हङकङ, जर्मनी, ताइवान र अमेरिकाबाट फुटकर रुपमा बीटीएस उपकरण आयात भएको देखिएको छ।
तीमध्ये भारतबाट ५ लाख ८ हजार रुपैयाँ बराबरको २० ओटा, ३ लाख ४९ हजार रुपैयाँ बराबरको ७ ओटा, जर्मनीबाट ६७ लाख ५५ हजार रुपैयाँ बराबरको ४ ओटा साथै हङकङ र ताइवानबाट क्रमश: ८ हजार र २५ हजार रुपैयाँ बराबरको १-१ ओटा उपकरण आयात भएको तथ्याङ्क छ।
पछिल्ला दिनमा देशभर दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको छ । गत वर्षकोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले दूरसञ्चार सेवाको उपयोग अधिकतम गरिरहेकाछन् ।
नेपालमा दूरसञ्चारका क्षेत्रमा ह्वावेजस्ता चिनियाँ कम्पनीका पूर्वाधारहरु धेरै प्रयोग हुने भएकाले पनि चीनबाट यस्ता उपकरण बढीभन्दा बढी आयात भएको आकलन गर्न सकिन्छ।
हाल विद्यालयहरु बन्द हुँदा र अधिकांशले अनलाइन कक्षा नै लिने गरेको सन्दर्भ तथा घरभित्रै मानिसहरु धेरै समय बसिरहँदा दूरसञ्चार सेवाको प्रयोग समेत बढ्ने अपेक्षा गरिएको छ।
त्यसैगरी देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु सशक्त भएर लागिरहेको बेलामा बीटीएस टावरको आयातमा वृद्धि हुनु वाञ्छनीय नै देखिएको छ।
प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार