
काठमाडौं ।
पश्चिमी अस्ट्रेलियाले आफ्नो पहिलो स्थानीय स्तरमा डिजाइन तथा निर्माण गरिएको स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ।
कर्टिन यूनिभर्सिटीका विद्यार्थी तथा इन्जिनीयरहरुद्वारा विश्वविद्यालयको अन्तरिक्ष विज्ञान तथा प्रविधि केन्द्रमा विकास गरिएको बाइनार-१ क्युबस्याट चन्द्रमाको सतहमा रहेका स्रोतसाधन पत्ता लगाएर तिनको उच्च रेजोल्युशनको डिजिटल म्यापिङका लागि डिजाइन गरिएको हो।
बाइनार-१ अमेरिकाको केप कार्निभलबाट आगामी अगस्ट २८ मा प्रक्षेपण हुने तालिका रहेको छ।
यो प्रक्षेपण अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेसनमा व्यावसायिक पुनर्आपूर्ति मिशन अन्तर्गत स्पेसएक्सको सीआरएस-२३ को एक हिस्साका रुपमा रहने बुझिएको छ।
विश्वविद्यालयका अनुसार बाइनार-१ को उद्देश्य सबै गम्भीर अन्तरिक्षयान प्रणालीको परीक्षण गर्नु हो। यसका लागि यसमा लगाइएका २ ओटा क्यामराले पश्चिमी अस्ट्रेलियाको समुद्री किनारा क्षेत्रको फोटोहरु लिएर पृथ्वीमा पठाउनेछ।
‘हाम्रो नयाँ डिजाइनले हामीलाई अन्तरिक्ष यान सस्तो बनाउन तथा पश्चिम अस्ट्रेलियाका इनोभेटरहरुलाई अन्तरिक्षको पहुँच प्रदान गर्नेछ,’ कर्टिन यूनिभर्सिटीका उप कुलपति प्रोफेसर हर्लिन हाइनेले बताए।
उनका अनुसार सन् २०२५ सम्ममा पश्चिमी अस्ट्रेलियाले बनाएको अन्तरिक्ष यान चन्द्रमामा पठाउने मुख्य लक्ष्य यूनिभर्सिटीको रहेको छ।
प्रकाशित: ७ भाद्र २०७८, सोमबार