
काठमाडौं ।
मंगल ग्रहमा पठाइएको चीनको जुरोङ रोभर मानव जीवनको सम्भाव्यता अध्ययनका लागि त्यहाँ रहेको जमेको पानीको खोजी गर्ने आफ्नो पहिलो चरणको काम सकेर आराम गरिरहेको छ।
चीनको राष्ट्य अन्तरिक्ष प्रशासन सीएनएसएले शुक्रबार आफ्नो वेबसाइटमा जुरोङले गत अगस्टमा ९० दिन पार गरेको र यो प्राविधिक रुपमा उत्कृष्ट र पूर्णरुपमा चार्ज भएको अवस्थामा रहेको उल्लेख गरेको छ।
संस्थाले जुरोङले गत मे १४ मा आफू अवतरण गरेको यूटोपिया प्लानिसिया नामक क्षेत्रमा उत्खनन तथा अनुसन्धान जारी राख्ने पनि जनाएको छ। जुरोङले तियानवेन-१ अर्बिटरका माध्यमबाट लगातार रुपमा फोटो तथा डाटा पठाइरहेको छ।
मंगल ग्रहमा दिगो रुपमा अन्तरिक्षयान सञ्चालन गर्ने चीन अमेरिकापछिको दोस्रो देश बनेको छ। मंगल ग्रहमा दिन पृथ्वीको भन्दा ४० मिनेट लामो हुने गर्दछ।
६ फीट उचाइ भएको जुरोङ हेलिकप्टरको सहायतामा मंगल ग्रहमा अनुसन्धान गरिरहेको अमेरिकी पर्सिभेरन्स रोभरभन्दा निकै सानो छ।
नासाले आफ्नो रोभरले पहिलो नमूना जुलाइमा संकलन गर्ने र सन् २०३१ मा पृथ्वीमा फर्कने अपेक्षा गरेको छ।
चीनले आफ्नो स्थायी अन्तरिक्ष स्टेशन एसेम्बल गरिरहेको छ। यसका लागि गत अप्रिल २९ मा अन्तरिक्षको अक्षमा स्थापना गरिएको हेभन्ली हार्मोनी अर्थ लाग्ने तियान्हे कोरमा ३ जना अन्तरिक्षयात्री राखेर निरन्तर रुपमा काम गरिरहेको छ।
यीमध्ये २ अन्तरिक्षयात्रीले आफ्नो दोस्रो स्पेसवाक गत शुक्रबार पूरा गरेका छन्। तीनै अन्तरिक्षयात्री आगामी सेप्टेम्बरमा पृथ्वीमा फर्कने उनीहरुको बदलामा अन्य तीन जना पठाइने बुझिएको छ।
प्रकाशित: ७ भाद्र २०७८, सोमबार