
काठमाडौं ।
भारतका स्टार्टअप कम्पनीहरुले यो वर्षको दोस्रो त्रैमास अर्थात् अप्रिलदेखि जूनसम्मको तीन महिनामा साढे ६ अर्ब डलर लगानी संकलन गरेका छन्।
नास्कम-पीजीए ल्याब्सको एक रिपोर्टअनुसार यो अवधिमा ११ स्टार्टअप इकाइहरु प्रतिष्ठित यूनिकर्न क्लबमा उक्लिएका छन्। यूनिकर्नको अर्थ एक अर्ब डलरभन्दा बढी मूल्यांकन हुनु हो।
दोस्रो त्रैमासका बीच स्टार्टअप इकाइहरुमा लगानीका १६० सम्झोता सम्पन्न भएका छन्। यी सम्झोताको आँकडा पहिलो त्रैमास अर्थात् जनवरीदेखि मार्चसम्मको तीन महिनाको अवधिको तुलनामा २ प्रतिशतले बढी छ।
यो वर्षको दोस्रो त्रैमास स्टार्टअपको वृद्धका हिसाबले हेर्दा निकै ओजिलो रह्यो। यो त्रैमासमा स्टार्टअपका इकाइहरुलाई सबैभन्दा बढी आर्थिक भरणपोषण प्राप्त भयो भने यूनिकर्नको संख्यामा पनि राम्रै बढोत्तरी भयो।
यो वृद्धिलाई हेर्दा कोभिड-१९ को दोस्रो लहरका बीच भारतीय स्टार्टअपको इकोसिस्टमले आफ्नो जुझारू क्षमताको परिचय दिएको बुझ्न सकिन्छ। दोस्रो त्रैमासमा भारतीय स्टार्टअपहरुलाई प्राप्त भएको साढे ६ अर्ब डलरको लगानी त्रैमासिक हिसाबले हेर्दा ७१ प्रतिशतको वृद्धिदरसहितको हो।
११ स्टार्टअप इकाइ प्रतिष्ठित यूनिकर्न क्लबमा समावेश
यो त्रैमासमा सबैभन्दा ठूलो सम्झोता फूड डेलिभरी प्लेटफर्म स्विगीको रहेको छ जसले ८० करोड़ डलरको कोष संकलन गर्न सक्षम भएको छ।
यसैगरी शेयरच्याटले ५०.२ करोड़ डलर, बाइजुजले ३४ करोड़ डलर, फार्मइजीले ३२.३ करोड़ डलर तथा रमीशोले ३० करोड़ डलर संकलन गरे।
यसबाहेक पाइन ल्याब्सले २८.५ करोड़ डलर, देल्हीवेरीले २७.७ करोड़ डलर, जेटाले २५ करोड़ डलर, क्रेडले २१.५ करोड़ डलर तथा अर्बन कम्पनीले १८.८ करोड़ डलरको लगानी जुटाउन सफल भए।
पीजीए ल्याब्सका निर्देशक तथा प्रतिस्पर्धा बजार विज्ञ अभिषेक मैतीले भने, ‘जून २०२१ सम्म ५३ ओटा यूनिकर्न रहेको भारतीय स्टार्टअप इकोसिस्टमले दोस्रो त्रैमासमा निकै राम्रो प्रगति गरेको छ। यो अवधिमा धेरै आर्थिक समर्थन प्राप्त गर्ने क्षेत्रमै यूनिकर्नको सङ्ख्या बढेको छ।’
उनले लकडाउनका कारण भएको ढिलाइका बाबजूद यो अवस्था आएपछि आउँदो छ महिनामा पनि यो क्षेत्रको दृश्य राम्रै हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ७ भाद्र २०७८, सोमबार