नेपाल टेलिकमको उपकरण र सफ्टवेयर सुरक्षाको जोखिम अत्यन्त बढी रहेको भेटियो

  • Technology Khabar | ६ भाद्र २०७८, आईतवार

काठमाडौं ।

सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनीको विभिन्न सिस्टमहरु नै जोखिममा रहेको देखिएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले प्रयोग गर्ने अधिकांश सिस्टमहरुमा पर्याप्त जोखिम व्यवस्थापन नभएको भेटिएको महालेखापरीक्षकले उल्लेख गरेको छ।

महालेखापरीक्षकको ५८ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीको बिलिङ्ग सिस्टम, डाटा सेक्युरिटी, विभिन्न किसिमका सफ्टवेयर, सूचना प्रविधि उपकरणहरुको सञ्चालन लगायतका क्षेत्रमा पर्याप्त जोखिम व्यवस्थापन नभएको भेटिएको हो ।

कम्पनीले अन्य कम्पनीहरुका उपकरण तथा सफ्टवेयरहरुको प्रयोग गरिरहेकोले सफ्टवेयर सुरक्षाको जोखिम अत्यन्त बढी रहेको समेत महालेखापरीक्षकले उल्लेख गरेको छ।

साथै कम्पनीले टेलिकम कोर उपकरण तथा ती उपकरणहरु रहेका भवनहरुमा सुरक्षाका लागि पहुँचमा नियन्त्रण, तापक्रमको नियन्त्रण, भवन आइसोलेट जस्ता उपायहरुको समेत उचित प्रबन्ध नपरेको औंल्याईएको छ । यसका अतिरिक्त कम्पनीले सफ्टवेयर तथा डाटा सेक्युरिटीको समेत बलियो सुरक्षाको प्रबन्ध यथाशीघ्र गर्नुपर्ने सुझाब समेत महालेखापरीक्षकको कार्यालयले दिएको छ ।

महालेखापरीक्षकले आफ्नो प्रतिवेदनमा कम्पनीको उपकरण र सफ्टवेयरहरु जोखिममा रहेको उल्लेख गरिरहँदा केहि महिनाअघि मात्र कम्पनीको ग्राहक डाटाहरु ह्याक भएको समाचार बाहिर आएको थियो । ह्याकरले टेलिकमका केहि डाटाहरु डार्क वेबमा राखेर बेचेको दाबी गरेको थियो ।

यदपी सो डाटा तथा तथ्यांकहरु टेलिकमको नभएको कम्पनीले दाबी गरेको थियो ।

नेपाल टेलिकमले भन्यो- ‘सर्भरमा ह्याकरको आक्रमण भएको छैन्, सम्पूर्ण डाटा सुरक्षित छन्’

यस बाहेक डाटा ह्याकको घट्ना भन्दा केहि साताअघि मात्र कम्पनीको मोबाइल सिस्टम नै डाउन भएको थियो। जसले गर्दा लाखौं ग्राहकहरु समस्यामा परेका थिए।

नेपाल टेलिकमले भन्यो- ‘सिस्टमको समस्या समाधान गरि सेवा सुचारु भयो, असुविधाप्रति क्षमा प्रार्थी छौं’

त्यस बेला कम्पनीले सफ्टवेयर अपडेट नहुँदा समस्या भएको दाबी गरेपनि सो घट्नामा पनि ह्याकिङ्गको आशंका गरिएको थियो ।

कम्पनीले सो सिस्टम डाउन भएको बारेमा छानबिन समिति गठन गरेको भएपनि सो समितिको प्रतिवेदन कहाँ छ भन्ने अझै जानकारी छैन् ।

नेपाल टेलिकमको दूरसञ्चार सेवामा देखिएको समस्या समाधान, अनुसन्धान समिति गठन गरिने

प्रकाशित: ६ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया