
काठमाडौं ।
चितवनमा केबल र इन्टरनेट प्रदायक संस्थाहरूले नेपाल विद्युत् प्राधिकरणका पोलको भाडा धमाधम तिर्न थालेका छन्।
भाडा नतिरी पोल प्रयोग भएको भन्दै प्रधिकरणले केबल र इन्टरनेट प्रदायक संस्थाका सेवा विस्तारमा रोक लगाएपछि उनीहरूले भाडा तिर्न थालेका हुन् ।
विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रले आफ्ना कर्मचारी नै खटाएर केबल र इन्टरनेट प्रदायक संस्थाका सेवा विस्तार गर्ने कार्य रोक्ने अभियान नै चलाएको छ।
अभियान चलेपछि पोलको भाडा सङ्कलन हुन थालेको केन्द्र प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।
सबैभन्दा बढी भाडा चित्रवन केबल नेटवर्क प्रालिले तिरेको छ । कम्पनीले करिब ३० लाख ५५ हजार रुपियाँ पोल भाडा बुझाएको प्रमुख सिंहले बताए ।उनले भने, “अहिले सेवाग्राहीले पोलको भाडा तिर्दै छन् ।”
चित्रवन केबल नेटवर्क प्रालिका अध्यक्ष महेन्द्र श्रेष्ठ आफूहरू राज्यको निकायले तोकेको भाडा दिन तयार भएको बताए । यस्तै कनेक्ट नेटवर्क प्रालिले पनि एक लाख ७७ हजार ९६५ रुपियाँ पोल भाडा बुझाएको छ ।
केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भाडा नतिर्ने अन्य संस्था पनि सम्पर्कमा आउन थालेको बताए ।
प्राधिकरणका अनुसार सेवा प्रदायक संस्थाले वितरण लाइनका हकमा नौ हजार रुपियाँ र मुख्य लाइनका हकमा १४ हजार रुपियाँ प्रति किलोमिटरका दररले राजस्व तिर्नुपर्ने व्यवस्था छ।
शुक्रबार पनि प्राधिकरणले भरतपुर महानगरपालिका–२, आँपटाडीमा बिस्तार हुँदै गरको डिसहोम सेवालाई रोक लगाएको छ । गोरखापत्र
प्रकाशित: ६ भाद्र २०७८, आईतवार