
काठमाडौं ।
इन्टरनेट सुविधा आजको अपरिहार्य सेवा हो। पढाइ लेखाई मनोरन्जन सञ्चार तथा कामका लागि पनि इन्टरनेट नभइ नहुने आधारभूत आवश्यकताका रुपमा परिणत भइसकेको छ।
दिन प्रतिदिन नयाँ नयाँ ग्याजेट र प्रविधिको आविस्कार उत्पादन र उपलब्धता बढिरहँदा तीमध्ये कतिपयका लागि इन्टरनेट प्रमुख आवश्यकता हुने भएकाले पनि इन्टरनेटको उपलब्धता र त्यसको क्षमता अभिवृद्धिमा सरकार तथा निजी क्षेत्र दुवैको प्रयास जरुरी देखिन्छ।
सरकार सबै स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउन तल्लीन छ भने निजी क्षेत्रमा पनि शहरबजारमा मात्र सीमित नभइ ग्रामीण स्तरसम्म कसरी इन्टरनेटको पहुँच पुर्याउन सकिन्छ र पुगेका ठाउँमा कसरी कम मूल्यमा क्षमता अर्थात् ब्यान्डविथ बढाउन सकिन्छ भन्ने प्रतिस्पर्धा चलिरहेको छ।
यस्तोमा हाल नेपालमा उपलब्ध नाम चलेका इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले सुपथ मूल्यमा १५ एमबीपीएसदेखि १०० एमबीपीएसभन्दा माथिको कनेक्टिभिटी पनि उपलब्ध गराउँदै आएका छन्।
तीमध्ये ३ वटा आईएसपीले १०० र त्योभन्दा बढी एमबीपीएस इन्टरनेट ब्यान्डविथ प्रदान गर्दै आएका छन्।
यी हुन् १०० र त्योभन्दा बढी एमबीपीएस ब्यान्डविथ दिने आईएसपी
१. सीजी नेट – १२० एमबीपीएस
चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेशन्स लिमिटेडले सीजी नेटका नाममा केही महिना अघिदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। शुरुवातमै नेपालमा सबैभन्दा बढी क्षमताको र कम मूल्यमा इन्टरनेट सुविधा दिने नारासहित सञ्चालनमा आएको सीजी नेटले १२० एमबीपीएसको ब्याण्डविथ मासिक ९९९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ।
कम्पनीकाअनुसार ३ महिना ६ महिना र १ वर्षको कनेक्शन लिन सकिने यो नेटको वार्षिक शुल्क भ्याटसहित ११,९८८ रुपैयाँ तोकिएको छ।
२. डिशहोम फाइबरनेट – १०० एमबीपीएस
डिशहोमको नाममा नेपालको पहिलो डीटीएच सेवा प्रदायकका रुपमा सेवा प्रदान गर्दै आएको डिश मिडिया नेटवर्क लिमिटेड अन्तर्गत केही महिना अघि शुरुवात भएको इन्टरनेट सेवा डिश फाइबरनेटले सर्वाधिक १०० एमबीपीएससम्मको ब्यान्डविथ प्रदान गर्ने दावी गरेको छ।
यो सेवाको शुल्क मासिक २,२०० रुपैयाँ तथा वार्षिक २२,००० रुपैयाँ तोकिएको छ। १ महिना ३ महिना ६ महिना तथा १ वर्षमध्ये कुनै पनि प्याकेज लिन सकिनेछ। यो शुल्क भ्याटबाहेकको हो।
३. भायनेट कम्युनिकेशन्स प्राली
इन्टरनेटको क्षेत्रमा करिब डेढ दशकदेखि सेवा पुर्याउँदै आएको भायनेटले केही महिना अघिदेखि अल गुण सम्पन्न प्याकेज अन्तर्गत आईपीटीभी बन्डलिङसहित १०० एमबीपीएससम्मको ब्यान्डविथ सेवा दिँदै आएको छ।
१ वर्षको प्याकेजमा मात्र उपलब्ध हुने यो ब्यान्डविथका लागि ग्राहकले २१,६०० रुपैयाँ तिर्नुपर्छ। यसरी हेर्दा यसको मासिक शुल्क १,८०० हुन आउँछ।
हेर्नुस् तीन ओटै कम्पनीको सेवाहरुको तुलना-
| कम्पनी | १ महिना | ३ महिना | ६ महिना | १ वर्ष | अन्य सुविधा |
| सीजी नेट १२० एमबीपीएस | ९९९ | २, ९९७ | ५,९९४ | ११,९८८ | x |
| डिशहोम फाइबरनेट १०० एमबीपीएस | २,२०० | ६,००० | ११,४०० | २२,००० | x |
| भायनेट १०० एमबीपीएस | x | x | x | २१,६०० | ३ टीभी+ |
माथि उल्लेख गरिएका सबै मूल्यहरु भ्याटबाहेकका हुन्।
प्रकाशित: ३ भाद्र २०७८, बिहीबार