स्वचालित भन्सार प्रणाली लागू गर्ने योजना, मोबाइलमार्फत भन्सार जाँचपास गर्न एप बनाईने

  • Technology Khabar | २ भाद्र २०७८, बुधबार

काठमाडौं ।

भन्सार विभागले जाँचपास प्रक्रृयालाई कागजरहित बनाई जाँचपासमा लाग्ने समय कम गराउने, विद्युतिय भुक्तानी लागू गर्ने र सम्पूर्ण कागजातलाई विद्युतीय स्वरुपमा पेश गर्न सक्ने सुबिधा सहित भन्सार आधुनिकीकरण गर्ने भएको हो ।

यसको लागि पूर्ण स्वचालित प्रणाली स्थापना गर्नुपर्ने विभागले छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजनामा ठहर गरेको छ।

अर्थमन्त्रालयले छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । मंगलवार मन्त्रालयमा आयोजित एक समारोहबिच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सार्वजनिक गरेका हुन् ।

सूचना प्रविधिका आधुनिक उपकरणहरुको प्रयोगमार्फत व्यापार सहजीकरण गर्दै, यथार्थपरक राजव संकलन गर्ने र आपूर्ति श्रृंखलाको अविच्छिन्नता एर्व सामाजिक सुरक्षाको प्रत्याभूतिमा भन्सारको योगदान अभिवृद्धि गर्ने योजनाको उद्देश्य रहेको छ ।

छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजनामा विभिन्न पाँच वटा उपलब्धिहरु प्रक्षेपण गरिएको छ। व्यापार सहजीकरण, थथार्थपरक राजश्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिवृद्धिलाई योजनाका उपलब्धिकोरुपमा राखिएको छ ।

स्वचालित भन्सार प्रणाली अन्तर्गत भन्सार जाँचपासका सबै प्रक्रियाहरु प्रविधिद्वारा स्वचालित गरिएको हुनेछ भने देशभरका उनन्तीस वटा भन्सार कार्यालयहरुमा ‘नेपाल भन्सार स्वचालन प्रणाली’ कार्यान्वयन गरिएको हुने योजनामा उल्लेख छ ।

त्यसैगरी स्वचालित भन्सार प्रणालीअन्तरगत अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक पर्ने इजाजतपत्र, अनुमति, प्रमाणपत्र, तथा अन्य कागजातहरुलाई अनलाइन प्राप्त गर्न सक्ने गरी विकास गरिएको नेपाल राष्ट्रिय एकद्धार प्रणालीको कार्यान्वयन गरीने भएको छ । यसमा सबै सरकारी र निजी क्षेत्रलाई आबद्ध गरिने लक्ष्य लिईएको छ।

विभागले योजनाअन्तरगत भन्सार कार्यालयमा मोबाइल/ट्याबलेटमार्फत भन्सार जाँचपास गर्न आसिकुडा मोबाइल क्लाइन्ट एप बिस्तार गर्ने, विद्युतीय भुक्तानी कार्यान्वयन गर्ने, डिजिटल सिग्नेचर कार्यान्वयन गर्ने स्वचालितरुपमा भन्सारको तथ्यांकहरु व्यवस्थापन गर्ने लगायतका लक्ष्यहरु राखेको छ ।

संगठनात्मक विकास र क्षमता अभिवृद्धि अन्तर्गत भन्सार प्रशासनको प्रतिष्पर्धात्मक क्षमता अभिृद्धि गर्ने लक्ष्य राखिएको छ। आधुनिक भन्सारका मापदण्ड लागू गर्नको लागि संगठनात्मक क्षमता बढाइने लक्ष्य योजनामा समावेश गरिएको छ ।

भन्सार सुधार योजनाले उल्लेखित उपलब्धिहरु अन्तर्गत पन्ध्र ओटा प्रतिफल प्राप्त हुने अपेक्षा गरेको छ ।

व्यापार सहजीकरण, समन्वयात्मक सीमा व्यवस्थापन, स्वेच्छिक अनुपालन, प्रभावकारी जाँचपासपछिको परीक्षण, राष्ट्रिय एकद्वार प्रणालीको विकास र विस्तार, भौतिक पूर्वाधारमा सुधार,व्यवस्थापकीय क्षमताको सुदृढीकरण, राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य, अर्थतन्त्र, बौद्धिक सम्पत्तिको संरक्षण, वातावरण र समाजको संरक्षणका क्षेत्रमा सहजीकरण लगायत रहेका छन् ।

यस्तै सरोकारवालाबिच समन्वय र सञ्चार, सुदृढ जोखिम व्यवस्थापन, यथार्थपरक राजश्व संकलन, स्वचालित प्रणालीको विस्तार, वैदेशिक व्यापार तथ्याङ्क व्यवस्थापन, सदाचार र सुशासन प्रवद्र्धन, सामाजिक सुरक्षाका लागि नीति तथा प्रक्रियाहरुको एकीकृत ढंगले कार्यान्वयन जस्ता प्रतिफल छैठौं भन्सार सुधार योजनाले अपेक्षा गरेको छ ।

भन्सार प्रशासनले वि.सं. २०६० देखि भन्सार सुधार कार्ययोजना लागू गर्दै आएको छ । पाँचौं भन्सार कार्ययोजना २०७८ असारमा सम्पन्न कार्यान्वयनमा ल्याइएको थियो ।

प्रकाशित: २ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया