
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सको फोल्डेबल स्मार्टफोनको बिक्री यो वर्ष ७० लाख थान हुने अपेक्षा गरिएको छ।
यो आँकडा अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी भएको विश्लेषकहरुले बताएका छन्।
यसका नयाँ मोडलहरु विभिन्न सुधारिएका फिचरहरुसहित सस्तो मूल्यमा आउन लागेकाले पनि यो आँकडा बराबर बिक्री हुने प्रक्षेपण गरिएको बुझिएको छ।
कम्पनीले हालैको अनप्याक्ड इभेन्टमा ग्यालेक्सी जेड फोल्ड३ तथा जेड फ्लिप३ सार्वजनिक गरेको छ। यसको ग्लोबल लन्च आगामी अगस्ट २७ मा हुनेछ।
ग्यालेक्सी जेड फोल्ड३ एस पेन स्टाइलस सपोर्ट गर्ने पहिलो फोल्डेबल फोन हो भने जेड फ्लिप३ पहिलेकोमा भन्दा ठूलो साइजको डिस्प्ले र पातलो डिजाइनमा रहेको छ।
विश्लेषकहरुका अनुसार यी मोडलहरुका कारण फोल्डेबल फोनको बिक्री यो वर्ष ६० देखि ७० करोड थान हुनेछ। यो आँकडा अघिल्लो वर्षको भन्दा तीन गुणा बढी हो।
यी दुईमध्ये क्ल्यामशेल डिजाइनको जेड फ्लिपको बजार हिस्सा ६० प्रतिशत हुने समाचार संस्था योनाप न्यूजले जनाएको छ।
प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार