
काठमाडौं ।
भर्खरै बार्सिलोनाबाट पीएसजीमा अनुबन्ध भएका फुटबल सुपरस्टार लियोनल मेस्सीलाई पीएसजीले उनको पारिश्रमिकको केही हिस्सा क्रिप्टोकरेन्सीमा भुक्तानी गर्ने भएको छ।
मेस्सीले यसै हप्ता पीएसजीसँग २ वर्षे सम्झौता गरेका हुन्। तेस्रो वर्ष भने विकल्पमा राखेर गरिएको उक्त सम्झौता अनुसार उनले क्लबबाट वार्षिक ४ करोड १० लाख डलर पारिश्रमिक र अन्य भत्ता पाउनेछन्। उनले सम्झोताको साइनिङ रकम ३ करोड डलर छुट्टै पाउनेछन्।
पीएसजीले बिहीबार मेस्सीको वेलकम प्याकेजमा ‘पीएसजी फ्यान टोकन’ नामको क्रिप्टोकरेन्सी पनि समावेश हुने बताएको हो।
यो भनाइ र घटनाक्रमपछि पीएसजीले आफ्ना फ्यानहरुका लागि गत वर्ष जारी गरेको क्रिप्टोकरेन्सी $पीएसजी टोकनको मूल्य उचालिएको छ।
That's $PSG crypto coin, more than doubled since Messi was linked to the club!!! pic.twitter.com/MZmJOJpPvd
— Flick Era (@rapcrux) August 9, 2021
यो टोकन पीएसजीले नयाँ फ्यान समुदाय निर्माणका लागि सन् २०२० जनवरीमा क्रिप्टो प्लेटफर्म सोसिओस डट कमसँगको साझेदारीमा बनाएको थियो।
३४ वर्षीय सुपरस्टारलाई क्रिप्टोमा भुक्तानी गर्नुले पीएसजीलाई विश्वकै नवीन र आधुनिक ब्रान्डका रुपमा स्थापित गर्ने क्लबको दावी छ।
प्रकाशित: २८ श्रावण २०७८, बिहीबार