
काठमाडौं ।
सरकारले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्दै लाने योजना लिएको छ। यसको लागि उर्जा मन्त्रालयले विद्युतीय सवारी साधनमा बम्पर प्याकेज ल्याएको छ ।
उर्जा मन्त्रालयले विद्युत् महसुलमा सहुलियत दिने र यसै वर्षभित्र ५० वटा चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा गरेको हो।
उर्जा खपत बढाउनको लागि सरकारले लिएको नीतिगत व्यवस्थाले विद्युतीय सवारी साधनको प्रयोग बढ्ने देखिएको हो।
उर्जा तथा सिंचाई मन्त्री पम्फा भुसालले उर्जा मन्त्रालय र मातहत निकाय तथा कार्यालयहरुले विद्युतीय सवारी साधन मात्रै प्रयोग गर्ने बुधबार जानकारी दिइन् । उनले जलविद्युत आयोजना बाहेक सबै प्रयोजनका विद्युतीय सवारी साधनको प्रयोग गर्ने जानकारी दिएकी हुन् ।
सरकारले २०३० सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधान विस्थापित गरी विद्युतीय सवारी साधनको प्रयोग गर्ने गराउने नीतिगत लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनको अन्तशुल्क खारेजी तथा भन्सार छुटको व्यवस्था गरिएको छ । यद्यपि, वर्तमान सरकारले अहिलेको बजेट परिमार्जन गर्ने बताएको छ ।
बुधबार सार्वजनिक गरेको कार्ययोजनामा विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्दै लाने योजना अनुरुप विद्युत् महसुलमा सहुलियत दिने र यसै वर्षभित्र ५० वटा चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा उल्लेख छ।
प्रकाशित: २८ श्रावण २०७८, बिहीबार