Technology Khabar २७ श्रावण २०७८, बुधबार
काठमाडौं ।
एप्पलले म्याक डिभाइसहरुमा आफ्नै एप्पल सिलिकन चिपहरु प्रयोग गर्ने उद्देश्यले गत वर्षबाट एम१ चिपसेट प्रयोगमा ल्याउन थालेको छ। कम्पनीले आईफोनमा पनि आफ्नै चिपसेट प्रयोग गर्दै आइरहेको छ।
हालै एप्पलका आफ्नै चिपसेट प्रयोग भएका डिभाइसहरुमा ताइवानको टीएसएमसीमा ५एनएम प्रोसेसबाट तयार पारिएका प्रोसेसरहरु छन्।
तर उक्त ५एनएम प्रविधिलाई अझ परिस्कृत गर्दै कम्पनीले अब ३एनएम प्रोसेसबाट चिपसेट तयार गरेर तिनीहरुलाई आगामी वर्ष अर्थात् सन् २०२२ मा आउनेम म्याक र आईफोनमा प्रयोग गर्ने योजना बनाएको छ।
डिजिटाइम्सको हालैको रिपोर्टमा एप्पलको अर्को वर्ष आउने आईफोन तथा म्याक डिभाइसहरुमा ३एनएम प्रोसेसमा बनाइएका चिपसेट प्रयोग गर्ने उल्लेख छ।
टीएसएमसीले ३एनएम चिपसेटको बृहत् उत्पादन सन् २०२२ को दोस्रो त्रैमास सकिएपछि शुरु गर्ने तालिका बनाएकाले त्यही वर्ष आउने डिभाइसमा यो यी चिपसेट उपलब्ध हुने आकलन गरिएको हो।
टीएसएमसीले ३एनएम चिप २०२२ मा उत्पादन गर्ने र यसका शुरुवाती ग्राहक एप्पल र इन्टेल लगायतका हुने जानकारी पहिले नै आइसके पनि २०२२ का आईफोन र म्याकमा ३एनएम चिप प्रयोग गर्ने भन्ने जानकारी भने अहिले पहिलो पटक आएको हो।
प्रकाशित: २७ श्रावण २०७८, बुधबार