काठमाडौं ।
गत आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत सार्वजनिक गरिएको उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम फिर्ता पाउने व्यवस्था फिर्ता योजना अब कार्यान्वयन हुने भएको छ। आन्तरिक राजस्व विभागले शुक्रबार एक सूचना जारी गर्दै कार्यान्वयनको तयारी भएको जनाएको हो।
तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमा सार्वजनिक गरेको वस्तु तथा सेवा खरिद गर्दा तिरेको १० प्रतिशत भ्याट फिर्ता गर्ने योजना घोषणा गरेका थिए ।
उपभोक्ताले वस्तु तथा सेवा खरिदमा डेबिट/क्रेडिट कार्ड, क्यूआर कोड, स्क्यान टु पे लगायतका विद्युतीय माध्यमबाट भुक्तानी गर्दा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशतले हुने रकम तत्काल फिर्ता दिने व्यवस्था कार्यान्वयनमा ल्याउन भन्दै विभागले सूचना प्रकाशित गरेको हो ।
विभागले भ्याटमा दर्ता भई विभागबाट स्वीकृति विद्युतीय बीजक जारी गर्ने करदाता उक्त प्रणाीमा आवद्ध हुने सक्ने जनाएको छ। यस्तै, डेविट, क्रेडिट कार्ड तथा क्यूआर कोड जस्ता विद्युतीय भुक्तानी उपकरणबाट भुक्तानी प्राप्त गर्ने बिक्रेताले मूल्य अभिबृद्धि करको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रुपमा फिर्ता गर्नुपर्ने हुन्छ।
सूचीकृत विद्युतीय बीजक सप्टवेयर आपूर्तिकताले सो प्रणालीसँग सामान्जस्य हुने गरी आप्नो सप्टवेयर परिमार्जन गर्नुपर्ने, भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक लगायत सबै बैंक तथा वित्तीय संस्थाले सो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने उल्लेख छ ।
त्यसैगरि सो प्रणालीमा आवद्ध बिक्रेताले आफ्नो कारोबारस्थलमा विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभाक्तालाई भ्याट फिर्ता हुने सुविधा रहेको जानकारी गराउनुपर्नेछ।
विभागले २०७६ पुस २५ देखि लागू हुनेगरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्य प्रक्रिया जारी गरेको थियो ।
विद्युतीय भुक्तानी प्रवर्द्धनका लागि अगाडी सारिएको यो अभियानमा सहभागिता जनाउन आम व्यवसायी, उपभोक्ता तथा सरोकारवाला व्यक्ति तथा निकायहरूलाई अनुरोध समेत गरेको छ।
प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार