७ करोड ३७ लाख रुपैयाँ बिगो असुलको माग गर्दै एभरेष्ट मोबाइल सेन्टरका प्रोप्राइटरविरूद्ध मुद्दा

  • Technology Khabar | २० श्रावण २०७८, बुधबार
७ करोड ३७ लाख रुपैयाँ बिगो असुलको माग गर्दै एभरेष्ट मोबाइल सेन्टरका प्रोप्राइटरविरूद्ध मुद्दा

काठमाडौं ।

राजश्व अनुसन्धान विभागले भन्सार छली राजस्व चुहावट गरेको आरोपमा रुपन्देहीको एभरेष्ट मोबाइल सेन्टरका प्रोप्राइटरविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।

सिद्धार्थनगर-९ स्थित सो एभरेष्ट मोबाइल सेन्टरका प्रोप्राइटर विष्णु ज्ञवाली विरूद्ध ७ करोड ३७ लाख ७५ हजार ५७६ रुपैयाँ बिगो असुल गर्न माग गर्दै विभागले सोमबार उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दायर गरेको हो।

विभागले जारी गरेको प्रेस विज्ञप्तीका अनुसार ज्ञवालीले भन्सार छलेर मोबाइल ल्याई बेचेर राजस्व चुहावट गरेको कसुरमा अनुसन्धान थालिएको थियो। आरोपित ज्ञवालीले ५ करोड ५ लाख ७२ हजार ७९२ रुपैयाँका मोबाइल बेचेको आरोप विभागको छ।

उनले आ.व. २०७३/०७४ देखि २०७५/०७६ सम्मको अवैध (लुज) बिलबाट कायम गरिएको बिक्रीतर्फ सो रकम बराबरको मोबाईलजन्य मालवस्तुहरुको बिक्री गरेको बताईएको छ । यस्तै, करिब १ करोड ३१ लाख रुपैयाँ बराबरको मोबाइल मौज्दात थिए।

फर्ममा रहेका मोबाइलहरू गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको अनुसन्धानबाट पत्ता लागेको विभागको दाबी छ।

ज्ञवालीले पेस गरेको वित्तीय विवरणमा आय लुकाएको, मोबाइल बिक्री गर्दा बिल बिजक नै प्रयोग नगरेको, भन्सार चोरी पैठारी गरी अधिक मात्रामा मौज्दात देखाएर अवैध बिल बिजकबाट खरिद बिक्री गरेको पाइएको विभागको दाबी छ। त्यसैगरि बिल बिजक जारी नगरी मालवस्तु बिक्री गरिएको तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको पाईएको विभागले उल्लेख गरेको छ।

विभागले बिगो बराबरको जरिवानासहित १४ करोड ७५ लाख ५१ हजार रुपैयाँ र ३ वर्ष सजाय माग गरी मुद्दा दायर गरेको जनाएको छ।

प्रकाशित: २० श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...