अनलाइनबाट नै विद्यार्थीहरुलाई निःशुल्क पढाउने प्लेटफर्म ‘नेपाल अनलाइन स्कुल’

  • Technology Khabar | १७ श्रावण २०७८, आईतवार
अनलाइनबाट नै विद्यार्थीहरुलाई निःशुल्क पढाउने प्लेटफर्म ‘नेपाल अनलाइन स्कुल’

काठमाडौं ।

नेपालमा पछिल्लो समय अनलाइन लर्निङको प्रयोग बढ्दै गइरहेको छ । कोरोना महामारीले अनलाइन लर्निङको महत्व झनै बढाएको छ ।

नेपालमा अनलाइन लर्निङका लागि विभिन्न प्लेटफर्म पनि विकास भएका छन् । त्यसै मध्येको एक सर्वाकृष्ट र गुणस्तरिय अनलाइन लर्निङ प्लेटफर्म हो ‘नेपाल अनलाइन स्कुल’ ।

करिब ४ वर्ष अगाडि स्थापना भएको नेपाल अनलाइन स्कुलमा निःशुल्क पढ्न पाइन्छ । नेपाल अनलाइन स्कुलमा पढ्न कुनै पनि विद्यार्थीले शुल्क तिर्नु नपर्ने संस्थापक नविन भट्टराईले बताए।

नेपाल अनलाइन स्कुलबाट हाल दैनिक ७० हजार विधार्थीहरुले पढिरहेका छन् । नेपाल अनलाइन स्कुल एक गैर नाफामूलक संस्था हो । सबै नेपालीलाई निःशुल्क गुणस्तरीय शिक्षा दिन नेपाल अनलाइन स्कुल स्थापना गरिएको उनको भनाइ छ ।

नेपाल अनलाइन स्कुलको युट्युब च्यानल https://www.youtube.com/channel/UClDw4ijXzb9YxiU5nWinEfQ_  मा युकेजीदेखि मास्टर्ससम्मका कोर्षहरु राख्ने तयारी छ । हाल ब्याचलर्ससम्मका कोर्षहरु राखिएको छ।

नेपाल अनलाइन स्कुल भोलेन्टियर रूपमा सञ्चालन छ । यसमा अहिलेसम्म देश तथा विदेशबाट २०० भन्दा बढी भोलेन्टियरहरु आवद्ध भएका छन् ।

भोलेन्टियरहरुले माइक्रोसफ्ट, एप्पल, वाकम लगायतका डिभाइस प्रयोग गरेर पढाइरहेका छन् । भोलेन्टियरहरुलाई उनले भिडियो बनाउन ३ देखि १५ लाखसम्मका डिभाइसहरु आफ्नै खर्चमा दिँदै आएको र भट्टराईले नेपाल अनलाइन स्कुलमा व्यक्तिगत डेढ करोडभन्दा बढी रूपैयाँ खर्च गरिसकेको दाबी गरिएको छ।

नेपाल अनलाइन स्कुलको युट्युब च्यानलबाट रेकर्डेड कक्षा मात्र नभएर लाइभ क्लास पनि सञ्चालन गरिन्छ । यसमा देश विदेशका उत्कृष्ट विद्यालयमा पढेका विद्यार्थीहरुले कन्टेन्ट बनाइ रहेका छन् । यसमा कम्प्युटर बेसिक, लोकसेवा तयारी कक्षा, ल्याङ्वेज, प्रवेश परीक्षा तयारी कक्षा लगायतका भिडियोहरु समेत राखिएको छ । इन्टरनेटको पहुँच नभएको ठाउँमा डाउनलोड गरेर हार्ड ड्राइभमा भिडियोहरु दिने गरेको उनले बताए ।

नेपाल अनलाइन स्कुलमा नेपाली तथा अंग्रजी भाषामा हाल २० हजारबढी भिडियो अपलोड भइसकेका छन् । अरू अपलोड हुने तयारीमा छन् । अब एनिमेसन प्रयोग गरेर पनि भिडियोहरु अपलोड गर्ने उनीहरुको योजना छ ।

हाल नेपाल अनलाइन स्कुल वेबसाइट र युट्युबमा उपलब्ध छ । अब नेपाल अनलाइन स्कुलको मोबाइल एप बनाउने समेत उनीहरुको योजना रहेको जनाईएको छ ।

प्रकाशित: १७ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...