अघि बढेन स्मार्ट सिटीको योजना

  • Technology Khabar | ११ श्रावण २०७८, सोमबार

काठमाडौं ।

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकालाई स्मार्ट सिटी बनाउने कार्य अन्तिम चरणमा पुगेको दाबी गरे पनि कार्यान्वयन हुन सकेको छैन् ।

प्रविधिको उच्चतम प्रयोग गर्दै नगरपालिकालाई स्मार्ट सिटी बनाउने गरी ल्याइएको योजना एक वर्ष अगाडि नै सकिनुपर्नेमा अहिलेसम्म कार्यान्वयन हुन नसकेको हो । स्मार्ट सिटी भएपछि जनतालाई उपलब्ध गराउने सेवा सुविधा र तथ्याङ्क राख्ने विधिको उदाहरण गत वर्ष नै प्रदर्शन गरिएको थियो ।

बिनाकागज अनलाइनबाट कसरी सेवा प्रवाह गर्ने कार्यका लागि स्मार्ट सिटी टेक्नोलोजी काठमाडौँले जिम्मा लिएको थियो । गत वर्ष नै डेमो प्रस्तुत गरिएकोमा अहिलेसम्म काम नसकिएको वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताए ।

गत वर्ष नै सबै तयार भइसकेको भनिए पनि अहिलेसम्म लागू भने हुन नसकेको तर यो कार्यक्रम लागू गरे स्मार्ट सेवा प्रवाह गर्नेमा गैँडाकोट नगरपालिका देशमै पहिलो हुने नगरप्रमुख छत्रराज पौडेलले बताए ।

नगरप्रमुख पौडेलले स्मार्ट सिटीका सबै कार्यक्रम लागू गर्न साढे पाँच करोड रुपियाँ लागत अनुमान रहे पनि सबैभन्दा पहिला गर्नुपर्ने कार्यका लागि नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको र सङ्घीय सरकारसँग एक करोड रुपियाँ माग भए पनि रकम प्राप्त नभएको बताए । गोरखापत्र

प्रकाशित: ११ श्रावण २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार