गाउँपालिकाको डिजिटल प्रोफाइल तयार

  • Technology Khabar | ९ श्रावण २०७८, शनिबार
गाउँपालिकाको डिजिटल प्रोफाइल तयार

काठमाडौं ।

बागलुङको काठेखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल प्रोफाइल निर्माण गरेको छ । आठ महिनाको अवधिमा स्थगलत अध्ययन, तथ्याङ्क सङ्कलन तथा प्राविधिक विश्लेषणपछि गाउँपालिकाको सम्पूर्ण वस्तुगत अवस्था समावेश गरी तयार गरेको ‘डिजिटल प्रोफाइल’ सार्वजनिक गरेको हो ।

प्रोफाइलमा गाउँपालिकाभित्र बसोबास गर्ने स्थानीयको विस्तृत व्यक्तिगत विवरणदेखि सार्वजनिक सम्पत्तिको तथ्याङ्क समावेश गरिएको छ । अब एक क्लिकमा गाउँपालिकाका बारेमा विस्तृत अध्ययन गर्न सकिने छ ।

प्रोफाइलमा जनसङ्ख्या, भूगोल, जमिन, सडक, वन जङ्गल, शैक्षिक, आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिकजस्ता विषयलाई विस्तृत रूपमा समावेश गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।

प्रोफाइलमा समावेश शीर्षकको तथ्याङ्कमा हेरफेर भएमा वडाले तत्काल त्यसलाई सच्याउन सक्ने हुँदा वस्तुगत विवरण नियमित अद्यावधिक हुनेछ । २५ लाख रुपियाँको लागतमा फोर जी इन्जिनियरिङ कम्पनीले आठ महिनामा प्रोफाइल तयार गरेको थियो ।

प्रोफाइलमा मुख्य एडमिनले सम्पूर्ण तथ्याङ्क नियन्त्रणमा राख्ने र वडा एडमिनले आफ्नो एडमिनको तथ्याङ्क सच्याउनेदेखि प्रिन्टको पहुँच राख्ने प्रोफाइल तयारकर्ता इन्जिनियर रेग्मीले बताए ।

प्रोफाइलमा भएको व्यक्तिगत विवरणबाहेक अन्य सार्वजनिक चासोका विषयलाई हेर्न सकिने छ । गाउँपालिकाका सबै घरधुरीको विवरण प्रविष्ट गरिएको प्रोफाइल तयार भएको हो ।

गाउँ विकासका लागि योजना निर्माण र डिजिटल माध्यमबाट जानकारी लिन चाहनेलाई प्रोफाइलले सहयोग गर्ने अध्यक्ष थापाको भनाइ छ । “अब गाउँका हरेक घटना र विवरण क्षणभरमै संसारको जुनसुकै कुनामा बसेर हेर्न र बुझ्न सकिने छ,” थापाले भने, “प्रोफाइल अपडेट गर्न कर्मचारीलाई तयार गरिने छ ।”

व्यक्तिगत घटना दर्ता, राजस्वको भुक्तानी, योजनाको सम्झौता तथा फरफारकलगायतका काम डिजिटल माध्यमबाट सुरु गरिसकेको गाउँपालिकाले स्मार्ट गाउँपालिकाको अवधारणाअनुसार डिजिटल प्रोफाइल तयार गरेको हो ।

आवश्यकताका आधारमा नीति, कार्यक्रम तथा योजना तयार गर्न प्रोफाइल सहयोगी बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए । गोरखापत्र

प्रकाशित: ९ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...