सेवानिवृत्त भएका सञ्चार सचिव हरिप्रसाद बस्यालको बिदाई

  • Technology Khabar | ७ श्रावण २०७८, बिहीबार

काठमाडौं ।

निजामती सेवाबाट सेवानिवृत्त भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई आज सो मन्त्रालयमा आयोजित समारोहमा बिदाई गरिएको छ ।

विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा सेवा गर्दै एक वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव कार्यरत रहेका उनले निजामती सेवा ऐनको प्रावधानअनुसार ५८ वर्ष पूरा गरी अनिवार्य अवकाश लिएका हुन् ।

सो अवसरमा सचिव बस्यालले निरन्तर अभ्यास, समयको सदुपयोग र इमान्दारिताले नै आफूलाई निजामती सेवामा दर्ता चलानीदेखि सचिवसम्मको जिम्मेवारी कुशलतापूर्वक पूरा गराउन सफलता मिलेको बताए।

उनले मन्त्रालयमा रहँदा सूचना प्रविधिलाई व्यवस्थित गरी सरकारी सेवालाई चुस्त बनाउन, विज्ञापनमा क्लिनफिड लागू गराउन, इन्टरनेट ब्रोड ब्याण्डको विस्तार, डिजिटल नेपालको कार्यान्वयन तथा नागरिक एप सञ्चालनलगायत विभिन्न काम गर्न सकेकामा खुशी व्यक्त गरे।

निवृत्त सचिव बस्यालले सबै स्थानीय तहका सेवा मोबाइल एपबाटै प्रवाह गरी सुखी र समृद्ध एवं आधुनिक नेपाल निर्माण गर्ने, पत्रकारको पहिचानलाई व्यवस्थित गराउनेलगायत कार्यलाई अन्तिम चरणमा पुर्याउन सफल भएको उल्लेख गरे ।

सचिव बस्यालले मन्त्रालयमा रहँदा तीन फरक सञ्चार मन्त्रीहरुसँग मिलेर काम गरेका थिए ।

कार्यक्रममा मन्त्रालय र मातहतका कार्यालय प्रमुखहरूले सचिव बस्याललाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए ।

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया