
काठमाडौं ।
नेपाल आयल निगमले एसएपी प्रणालीको सुरुवात गरेको छ । निगमले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सँगै एसएपी प्रणालीको सुरुवात गरेको हो ।
यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपिएस (वेब , मोबाईल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तिय संस्थाहरुको शाखा मार्फत् निगमलाई अनलाईन भुक्तानी गर्न सक्नेछन् । औपचारिक थालनीको ४ दिनमा नै निगमको ३.९७ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको एनसीएचएलले जानकारी दिएको छ।
विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ । यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरु मार्फत संकलन पनि एनसीएचएलको प्रणाली मार्फत अन्लाईन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस सँगै निगमले एनसीएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अन्लाईन मार्फत् गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने योजना रहेको छ । यसरी निगमबाट गरिएको पहल निकै सर्हानीय रहेको र यसले निगमको कार्यकुशलता र पारदर्शीतामा समेत विशेष टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
डिलर पार्टनरले निगमलाई कसरी भुक्तानी गर्ने ?
१। डिलरले आफ्नो बैंक/वित्तिय संस्थालाई भुक्तानी आदेश सँगै आफ्नो कस्टोमर आईडी र भुक्तानी गर्ने शीर्षक को जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ ।
२। बैंकर वित्तिय संस्थाले उक्त जानकारी अनुरुप शाखालाई एनसीएचएलले उप्लब्ध गराएकोे प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन्
३। यसरी शाखाबाट रु १० लाख सम्मको रियल–टाइम अन्तर बैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रति कारोबार रु १ करोड सम्म तथा नन् रियल–टाइममा रु २० करोड सम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
४। त्यसै गरी डिलरहरुले निगमलाई भुक्तानी गर्न कनेक्ट आईपीएसको वेबसाईट, यसको मोबाईल एप तथा डिलरको पोर्टलमा जोडिएको कनेक्टआइपिएस ९गेटवे० मार्फत पनि अन्लाईन भुक्तानी गर्न सक्दछन् । यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ ।
एनसीएचएलको कनेक्ट आईपीएसमा हाल ५४ भन्दा बढी बैंक वित्तिय संस्थामा फण्ड ट्रान्स्फर तथा अन्य विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।
त्यसै गरी एनसीएचएल आईपीएसमा ६२ र कर्पोरेट पे एपमा ३० बैंक वित्तिय संस्था आबद्ध रहेका छन् । डिजिटल भुक्तानी प्रणालीहरु मार्फत एनसीएचएलले सरकारी, अर्ध सरकारी लगायतका विभिन्न निकाय तथा संस्थाहरुलाई डिजिटलाईजेसनमा जोडिन आवश्यक सहायता गर्दै आएको छ ।
नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगम, देशमा पेट्रोलियमजन्य पदार्थ आयात गर्ने, भण्डारण गर्ने तथा वितरण गर्ने एक मात्र निकाय हो । सन् १९७० मा स्थापना गरिएको निगमले झण्डै एक वर्ष लामो प्रयासपछि एसएपीको सफल कार्यान्वयन गरेको हो र यस कदमले निगमको व्यवस्थापन तथा प्रशासनमा नयाँ आयम ल्याउने विश्वास गरिएको छ ।
प्रकाशित: ७ श्रावण २०७८, बिहीबार