
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले साउन ६ गते बुधबारबाट अनिवार्य अवकाश पाएका छन् ।
निजामती किताबखानाका अनुसार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव बस्यालले आजदेखि अनिवार्य अवकाश पाएका हुन् ।
उनी २०७७ साउन ६ गते सञ्चार मन्त्रालयको सचिवमा नियुक्त भएका थिए । सञ्चार मन्त्रालय रहँदा बस्यालले डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्यवन गर्न पहल गरेका थिए।
मेरो पालामा मैले डिजिटल नेपालको लागि पूर्वाधार तयार पार्न काम गरेको छु तर फल पाउन बाँकी छ अवकाश पाएका सचिव बस्यालले टेक्नोलोजीखबरसँग भने।
मूख्यतया हुलाक मिडिया र सूचना प्रविधिको क्षेत्रमा ध्यान केन्द्रित गरेर काम गरेको भन्दै उनले आफ्नो कार्यकालमा तीनवटै तहलाई अगाडी बढाउन सेवाग्राहीहरुलाई सजह सेवा पाउने वातावरण बनाउन र सेवालाई अनलाइनमा लानका लागि काम गरेको उनले बताए ।
स्थानीय तहहरुमा इन्टरनेट पूर्वाधार पुर्याउन नागरिक एपलाई अगाडी बढाउन डिजिटल नेपालको फ्रेमवर्कलाई अगाडी बढाउन र टेलिकमको पेमेन्ट कम्पनी शुरुवात गर्न सकिएकोमा उनले सन्तोष व्यक्त गरे ।
‘मेरो लागी यो मन्त्रालय नौलो थियो र सिक्ने चाहनाले आएको थिएँ । सिक्नुका साथै केहि काम समेत गर्ने अवसर मिल्यो,’ उनले भने ।
यसका साथै उनकै कार्यकालमा साइबर सेक्युरिटी नीतिको मस्यौदा अन्य नीतिहरुको पुनरावलोकन लगायतका अन्य नीतिगत सुधारमा लागेका थिए ।
सञ्चार मन्त्रालयमा आउनुअघि बस्याल गण्डकी प्रदेशको मूख्यमन्त्री कार्यालयका प्रमुख सचिवको रुपमा कार्यरत थिए । स्थायी घर पाल्पा भएका उनीसँग कुटनीति क्षेत्र र शिक्षा क्षेत्रमा पनि अनुभव रहेको छ ।
चीनको लासामा महावाणिज्य दुतका रुपमा काम गरिसकेका बस्यालले इमान्दार र मेहनति सचिवका रुपमा आफ्नो छवि बनाएका छन् ।
बुधवार सार्वजनिक बिदा परेको हुँदा उनलाई बिहिबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरेर बिदाई गरिँदैछ ।
प्रकाशित: ६ श्रावण २०७८, बुधबार