सीसीटीभी जडान भएपछि अनुसन्धानमा प्रभावकारी बन्दै

  • Technology Khabar | ५ श्रावण २०७८, मंगलवार
सीसीटीभी जडान भएपछि अनुसन्धानमा प्रभावकारी बन्दै

काठमाडौं ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारका विभिन्न स्थानमा सीसीटीभी राखेपछि अपराध अनुन्धानमा प्रहरीलाई सहज भएको छ।

सोलुदूधकुण्ड नगरपालिकाको करिब आठ लाख २० हजार रुपियाँको लागतमा सल्लेरी बजारमा सीसीटीभी जडान भएपछि शान्ति सुरक्षामा सहयोग पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानी रहने गरी बासा मोडदेखि तीनकुने, हुलाक कार्यालय, वडा नं. ५ को वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, रेडक्रस कार्यालय, जिल्ला निर्वाचन कार्यालय, वसन्त बजार, नयाँ बजार र शनिबारे हाटसम्म दस स्थानमा सीसीटीभी राखिएको हो।

नगर क्षेत्रभित्र शान्ति सुरक्षा तथा अपराध न्यूनीकरणका लागि पहिलो चरणमा जिल्ला सदरमुकाममा सीसीटीभी राखिएको सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए। पर्यटकीय जिल्ला भएकाले भ्रमणमा आउने पर्यटकहरूको सुरक्षार्थ सहजीकरणको लागि पनि यसको महत्व रहेको उनको भनाइ छ ।

ओखलढुङ्गा जिल्लासँग जोडिएको सिमानाका केरुङ पत्तालेदेखि फाप्लुसम्म फैलिएको सगरमाथा राजमार्गमा हुन सक्ने सवारी दुर्घटना, राजमार्ग क्षेत्रमा हुने चोरी, डकैतीलगायत विभिन्न किसिमका अपराधहरूको नियन्त्रण तथा न्यूनीकरण गर्दै प्रहरीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउनका लागि स्थानीय तहसँगको सहकार्यमा सीसीटीभी जडान एवम् विस्तार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कट्वालले बताए।

यसले अपराधसँग सम्बन्धित प्रमाण सङ्कलन, अपराधमा संलग्न हुन सक्नेहरूका मनोवैज्ञानिक दबाब सिर्जना गर्न, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्न विद्युतीय उपकरणको प्रभावकारिता बढाउन, सवारी दुर्घटनाको न्युनीकरण तथा सवारी चालकहरूमा अनुशासनको विकास गर्न, छिटो छरितो प्रहरी परिचालन गर्न, पर्यटकहरूमाथि हुनसक्ने अपराध नियन्त्रण गर्न यसले सहयोग गरेको उनको भनाइ छ ।

प्रहरीले अन्य सबै गाउँपालिकाका बजार क्षेत्रमा पनि सीसी टीभी राख्नका लागि समन्वय गरिरहेको जनाएको छ। गोरखापत्र

प्रकाशित: ५ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार