
काठमाडौं ।
टेन्सेन्टले बेलायती भिडियो गेम कम्पनी सुमोको स्वामित्व १ अर्ब २७ करोड डलरमा किन्ने भएको छ।
चिनियाँ टेक जायन्ट टेन्सेन्टको यो कम्पनीमा पहिले नै ८.७५ प्रतिशत स्टेक रहेको गेम्सइन्डस्ट्री.बिजको रिपोर्टमा उल्लेख छ।
हाल सम्झाैता भएको मूल्य भने सुमोको अहिलेको मूल्यांकनमा ४३ प्रतिशत प्रिमियम जोड्दा आउने रकम हो।
बेलायतको शेफिल्डमा मुख्य कार्यालय रहेको सुमोको सुमो डिजिटल स्टुडियोले गेमिङ प्लेटफर्मका थुप्रै दिग्गज कम्पनीहरुसँग मिलेर काम गरिसकेको छ।
यसले सोनी प्लेस्टेशन ५ को लन्च टाइटल स्याकब्वाइ: अ बिग एडभेन्चरको विकास गरेको थियो साथै एक्सबक्स कन्सोल तथा पर्सनल कम्प्युटरका लागि माइक्रोसफ्टको क्र्याकडाउन ३ बनाउँदा प्राथमिक स्टुडियोको रुपमा साझेदारी गरेको थियो।
सन् २०१७ मा सुमोले धेरै प्लेटफर्मका लागि आफ्नो ओरिजिनल आईपीमा आधारित स्नेक पास सार्वजनिक गरेको थियो।
‘सुमोका तीन संस्थापकहरु पल पोर्टर, ड्यारेन मिल्स र म हामीले गर्ने कामका बारेमा हृदयदेखि नै समर्पित छाैं र हामी हाम्रो भूमिकालाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्दछाैं ’, सुमोका सीईओ कार्ल केभर्सले एक विज्ञप्तिमा भनेका छन्।
केभर्सका अनुसार टेन्सेन्टले सुमोको उपभोक्तासम्बन्धी कामलाई तथा आफ्नै मोलिक आईपीलाई सहयोग गर्ने प्रतिबद्धता देखाएकोले तत्काल कुनै परिवर्तन नदेखिने संकेत गरेका छन्। यो किनबेचले एपिक, रायट, एक्टिभिजन तथा यूबिसफ्टमा लगानी भएको टेन्सेन्टलाई विश्वको गेमिङ उद्योगमा अझ दरिलो उपस्थिति देखाउन मदत गर्ने भने पक्का छ।
‘टेन्सेन्ट बेलायत तथा बाहिर मुलुकमा सुमोको प्रवर्द्धनका लागि आफ्ना स्रोत र दक्षता प्रयोग गर्न चाहन्छाैं, यसमार्फत् कम्पनीले सुमोलाई गेमिङ इनोभेशन हबका रुपमा चिनिने बेलायतको उत्कृष्ट सिर्जनात्मक प्रतिभाका लागि सहयोग गर्नेछ,’ टेन्सेन्टका मुख्य रणनैतिक अधिकारी जेम्स मिचेलले भने।
प्रकाशित: ४ श्रावण २०७८, सोमबार